विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको लेटाङ फुटबल क्लबले जितेको छ । विराटनगरको जुट मिल खेल मैदानमा आइतबार सम्पन्न  फाइनल खेलमा उदयपुरको फ्यूजन फुटबल क्लब गाइघाटलाई १–० गोलले पराजित गर्दै लेटाङले उपाधि जितेको हो ।
 
लेटाङ टिमको पुजन चौधरीले खेलको ४५ औँ मिनेटमा निर्णायक गोल गर्दै टिमलाई उपाधि दिलाउन सफल भएका हुन् । सुजन विकले निकालेको क्रस पासलाई पुजनले गोलमा परिणत गर्दै जित सुनिश्चित गरेका थिए । मिल्स गोल्डकपमा पहिलो पटक भाग लिएका लेटाङले उपाधी जित्दै इतिहास रचेको छ ।

उपाधिसँगै लेटाङले नगद १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपबिजेता उदयपुरको फ्युजन फुटबल क्लबले नगद ५१ हजार रुपैयाँमा चित्त बुझाए । 

विधागत पुरस्कारमा पनि लेटाङको बर्चस्व रहयो । बेष्ट गोलकिपरमा लेटाङका गोल रक्षक समिर क्षेत्री, बेष्ट प्लेयर अफ द  टुर्नामेन्ट लेटाङका किरण शंकर, बेष्ट प्रशिक्षक लेटाङका इन्द्र राई घोषित भए । त्यसैगरी बेष्ट डिफेन्डरमा उदयपुरका युवराज थापा घोषित भए भने हाइस्कोरमा लेटाङका सौगात राई र उदयपुरका रितेश तामाङ घोषित भए । उनीहरुले प्रतियोगिताभरीमा समान २–२ गोल गरेका थिए । प्रतियोगिताको बिजेता टिम र खेलाडीहरुलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत, विराटनगर १६ का उद्धव भुजेल, मिल्स गोल्डकप फुटब ट्रष्टका अध्यक्ष विष्णु डंगोलगायतले पुरस्कार वितरण गरेका थिए ।