काठमाडौँ — व्यवसायी तथा राजसंस्था पक्षधर अभियन्ता दुर्गा प्रसाईंले चैत १५ मा तीनकुनेमा भएको घटनाका क्रममा ज्यान गुमाएका दुई नागरिकका परिवारलाई जनही पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।

बुधबार सार्वजनिक गरिएको ८ मिनेट ३० सेकेन्डको भिडियो सन्देशमा प्रसाईंले आफू भागेको नभइ ‘जोगिएको’ दाबी गर्दै हाल नेपालमै सुरक्षित स्थानमा रहेको जानकारी दिएका छन् । 'भागेको होइन, जोगिएको मात्र हो’, भिडियोमा प्रसाईंले स्पष्ट रूपमा भनेका छन् । उनका अनुसार आफू नभएसम्म राजसंस्थाको पक्षमा भइरहेको अभियान र सम्भावित जनविद्रोह सफल हुन नसक्ने हुँदा आफूलाई सिध्याउने षड्यन्त्र चलेको छ ।

प्रसाईंले पेरूको विद्रोहको उदाहरण दिँदै ‘गोञ्जालोलाई पक्रेर मारेपछि त्यहाँको आन्दोलन सकियो, म त्यो हुन दिन्न’ भन्दै आफू सतर्क रूपमा नेपालमै बसेको बताए । उनले नेपाल प्रहरी प्रमुख दीपक थापालाई सम्बोधन गर्दै कानुनविद् स्वागत नेपाल, भीमार्जुन आचार्य, ओमप्रकाश अर्याललगायत पाँच जना वकिल र पाँच जना मानवअधिकारकर्मीको रोहवरमा मात्र आफू सार्वजनिक हुन तयार रहेको घोषणा गरे ।

‘मेरो ज्यानको सुरक्षा सुनिश्चित भए २४ देखि ३६ घन्टाभित्र म सार्वजनिक हुनेछु,’ उनले भने । प्रसाईंले चैत १५ को घटनाबारे बोलेका छन् जसमा राजसंस्थाका पक्षधरहरूले राष्ट्रिय गान गाउँदै सभा गरिरहेका बेला टियर ग्यास र गोली प्रहार भएको आरोप लगाएका छन् । उनी भन्छन्, ‘३ बजेर ७ मिनेटमा गर्ने भनिएको घोषणा बिथोलियो ।’ आफूलाई सिध्याउने प्रयासमा नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र राजावादी भनिने एक नेतासमेत संलग्न रहेको आरोप पनि उनले लगाएका छन् ।