विराटनगर– ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सेवारो चोकमा बोलेरो गाडी विद्युत् तारमा अल्झिएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको घटनाबारे छानबिन गर्न चार सदस्यीय समिति गठन गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले यही वैशाख ८ मा भएको उक्त दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गरेका हुन् ।
ना १ ज ३०११ नम्बरको बोलेरो गाडी ताप्लेजुङको सदरमुकामबाट प्रसिद्ध धार्मिक स्थल पाथिभरा मन्दिरतर्फ जाँदै गर्दा झुकेको विद्युत् तारमा अल्झिएर आगलागी भएको थियो । ऊर्जा मन्त्रालयका अनुसार विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इञ्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिमा मन्त्रालयका दुई जना प्रतिनिधि र पुल्चोक इञ्जिनियरिङ क्याम्पसका एक जना प्रतिनिधि सदस्यका रूपमा छन् ।
दुर्घटनापछि गम्भीर चासो व्यक्त गर्दै मन्त्री खड्काले समितिलाई यथार्थ छानबिन गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न निर्देशन दिएका छन् । दुर्घटना कसरी, किन र के कारणले भयो भन्ने विषयमा विस्तृत विवरण संकलन गरी प्रतिवेदन तयार पार्न तथा यस्ता दुर्घटना भविष्यमा दोहोरिन नदिनका लागि आवश्यक उपायहरू सुझावसहित पेश गर्न समितिलाई कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ ।
उक्त दुर्घटनामा झापा भद्रपुर नगरपालिका–१५ अस्पताल चोकका ७० वर्षीय विनोद पौडेल, उनकी ६९ वर्षीया श्रीमती सरिता पौडेल, ललितपुर महानगरपालिका–१० की १६ वर्षीया नातिनी आध्या आचार्य र फुङलिङ–१० का करिब ४२ वर्षीय गाडी चालक दुर्गा भट्टराईको मृत्यु भएको ताप्लेजुङ प्रहरीले जनाएको छ।