काठमाडौं– नेपाल प्रहरीले पर्वत र पाँचथरमा बालिकाहरुको बलात्कारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्वतको  जलजला गाउँपालिका–९, बनौका १९ वर्षीय विजय फगामी मगरलाई प्रहरीले पक्राउ गरेको छ । मगर हाल कुश्मा नगरपालिका–६, राम मन्दिर चोकमा डेरा गरी बस्दै आएका थिए ।

मंसिर ३ मा बालिकालाई बलात्कार गरेको उजुरी परे पछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले आइतबार दिउँसो उनलाई पक्राउ गरेको हो । अर्को घटनामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाँचथरको  हिलिहाङ गाउँपालिका–४ का २९ वर्षीय दोर्ण रसाइलीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीमाथि फिदिम नगरपालिका–२, रमिते डाँडास्थित रमिते होटलको कोठामा गत बिहीबार बालिकालाई बलात्कार गरेको आरोप छ । घटना सम्बन्धी उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलीले शनिबार साँझ रसाइलीलाई पक्राउ गरेको हो । प्रहरीले दुवै घटनामा आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।