भुवनेश्वर– भारतको उडिसास्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा शाहको शंकास्पद मृत्युको कारण अझै अज्ञात छ। पोष्टमार्टम रिपोर्टले पनि मृत्युको स्पष्ट कारण खुलाउन सकेको छैन।
भारतस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका एसएसपी (काउन्सिलर) सञ्जीवदास शर्माका अनुसार प्रारम्भिक पोस्टमार्टम रिपोर्टमा कुनै कारण उल्लेख छैन। ‘अनुसन्धान अझै जारी छ। प्रिसाको ल्यापटप र मोबाइल फोरेन्सिक परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ, त्यसको प्रतिवेदन आउन बाँकी छ,’ उनले भने।
सर्लाहीको कविलासी नगरपालिका–८ स्थायी घर भइ हाल पर्साको वीरगन्ज महानगरपालिका–१५, भिस्वामा प्रिशा बस्दै आएकी थिइन्। उनी किट विश्वविद्यालयको बीटेक प्रथम वर्षमा अध्ययनरत थिइन्।
शंकास्पद अवस्था, आत्महत्याको आशंका
कलेज स्रोतका अनुसार उनीसँग होस्टलमा दुईजना सिनियर रुममेट थिए, जो घटना समय घर गएका थिए। घटनाको दिन बिहीबार दिउँसो कलेज नआएकी प्रिशा साँझ मृत भेटिएकी थिइन्। उक्त दिनको ’इन्जिनियरिङ ड्रइङ’ विषयको भाइबा परीक्षा दिनुपर्ने भए पनि अनुपस्थित भए पछि उनको खोजी भएको थियो ।
भुवनेश्वर प्रहरीले १० जना विद्यार्थीहरूसँग सोधपुछ गरेको छ। कलेज प्रशासनले समेत नेपालीलगायत अन्य देशका विद्यार्थीलाई काउन्सिलिङ गरिरहेको एक विद्यार्थीले जानकारी दिएका छन्।
लगातार आत्महत्या प्रकरणपछि छानबिन समिति गठन
किटमा यसअघि पनि दुई भारतीय विद्यार्थीले आत्महत्या गरेका थिए। दुई नेपाली विद्यार्थी पनि मृत फेला परिसकेका छन् । यस्तै घटनाहरू दोहोरिन थालेपछि भारतको विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले चार सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिको नेतृत्व इन्दिरा गान्धी खुला विश्वविद्यालयका उपकुलपति नागेश्वर रावले गरेका छन्।
मानव अधिकार आयोग र संसदको ध्यानाकर्षण
भारतको राष्ट्रिय मानव अधिकार आयोगले उडिसाका मुख्य सचिव र प्रहरी महानिर्देशकलाई सात दिनभित्र तथ्यसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। आयोगले घटनालाई गम्भीर रूपमा लिँदै ९ मे (२६ वैशाख) भित्र अनुसन्धान पूरा गर्न भनेको हो।
संसदमा समेत प्रिशाको मृत्युबारे आवाज उठेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले यो विषय उठाएपछि सभामुख देवराज घिमिरेले सरकारलाई भारतसँग उच्च तहमा कूटनीतिक पहल गर्न निर्देशन दिएका छन्।
किट विश्वविद्यालय र नेपाली विद्यार्थीहरूको उपस्थिति
सन् १९९२ मा स्थापना भएको किट विश्वविद्यालय हाल भारतको एक प्रमुख निजी विश्वविद्यालयको रूपमा परिचित छ। भुवनेश्वरको पटिया क्षेत्रमा ८,९०० एकडमा यो संस्था फैलिएको छ। यसमा नेपाल, भुटान, श्रीलंका, बंगलादेश, फ्रान्स, सोमालिया, सिरियालगायत देशका विद्यार्थी अध्ययनरत छन्। विश्वविद्यालयमा हाल १ हजार ३ सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन्।