पोखरा— अमेरिकी नागरिकलाई अपहरण गरी फिरौती माग्ने कार्यमा संलग्न एक महिला पक्राउ परेकी छिन् । नुवाकोट बेलकोटगढी नगरपालिका–४ की ३७ वर्षीया सरिता लामालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

कास्की प्रहरीका अनुसार अमेरिकाकी ७० वर्षीया महिला साथीहरूसँग मुक्तिनाथ भ्रमणका लागि नेपाल आएकी थिइन् । नेपालमा रहँदा ती महिलाको लामासँग सामान्य चिनजान भएको थियो । उनले  अमेरिकी महिलालाई  घुम्ने ठाउँहरूको जानकारी दिएकी थिइन् । 

पोखराको लेकसाइडस्थित एक होटलमा बसेकी अमेरिकी नागरिकलाई लामाले घरमा लैजाने बहानामा लिएर गइन् । तर घरमा नलगी अन्यत्रै लुकाएर राखिन् र ३ लाख युरो (अन्दाजी साढे ४ करोड नेपाली रुपैयाँ) फिरौती मागिन् ।
नेपालस्थित अमेरिकी दूतावासले कास्की प्रहरीलाई घटनाको जानकारी दिएपछि, केन्द्रीय अनुसन्धान ब्युरो र मकवानपुर प्रहरीको सहयोगमा अनुसन्धान टोली खटियो ।

प्रहरीले चितवन, हेटौँडा हुँदै पर्सा जिल्लासम्म खोजी गरी अपहरणमा परेकी महिलालाई सकुशल उद्धार गरेको छ ।  लामाले पीडितलाई भारतसम्म लैजाने तयारी गरेको अनुसन्धानका क्रममा देखिएको छ । कास्की जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसूरमा लामाविरुद्ध ७ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।