विराटनगर- ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ को मुख्य नाराका साथ विश्वभर आज एक सय १५ औँ अन्तर्राष्ट्रिय महिला दिवसमा विभिन्न कार्यक्रम हुँदैछ ।
महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै उनीहरुको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसको उद्देश्य हो । महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवँ उचित सम्मान गर्नेलगायतका उद्देश्य पनि यसमा समाविष्ट छ ।
समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक क्षेत्रमा महिलाको सहभागिता बढदै गएको छ । हाल संघीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६ दशमलव पाँच र स्थानीय तहमा ४१ दशमलव एक प्रतिशत महिला जनप्रतिनिधि छन् । निजामती सेवामा अहिले करिब २८ प्रतिशत महिला कर्मचारी सामेल छन् ।
शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवं निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित गर्नका लागि धेरैथोक गर्न बाँकी नै छ ।
सन् १९७५ देखि संयुक्त राष्ट्र संघले नारी दिवस मनाउन थालेको हो । पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो । सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलालले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरका थिए ।
उक्त प्रदर्शनपछि संसारभर महिला अधिकारको बारेमा बहस हुन थालेको हो । आफ्ना हक र अधिकारको माग सारेर महिलाले नै संघर्ष थालेको दिनको स्मरणमा यो दिवस मनाइन्छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ । विभिन्न राजनीतिक दल सम्बद्ध महिला संगठनले पनि अन्तरराष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन् ।
समाजमा रहेका खराब अभ्यास एवं प्रथाले किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्ने हुनाले यस्ता प्रथालाई अन्त्य गर्न सबैको सार्थक पहल जरुरी हुने विश्वव्यापी सन्देश पनि यो दिवसले प्रवाह गरिरहेको छ ।