विराटनगर– नेकपा एमालेले जिल्ला सदरमुकाममा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनप्रदर्शन थालेको छ । केराबारी गाउँपालिका कमिटीले शनिबार केराबारीमा आयोजना गरेको गाउँपालिकास्तरीय संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनप्रदर्शन कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य, कोशी इञ्चार्ज तथा पूर्वमुख्यमन्त्री शेरधन राईले प्रतिगमनकारीहरुले काठमाडौंमा गरेको हिंसात्मक एवंविध्वंशात्मक कार्यको भत्सर्ना तथा निन्दा गरेका छन् ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा चैत १७ गते प्रत्येक जिल्ला सदरमुकाममा र १८ गते प्रदेश राजधानी विराटनगरस्थित महेन्द्रचोकमा खुल्ला सभा र चैत ३० गते हुने दमकको वृहत जनप्रदर्शनमा सबैको उपस्थिति अपरिहार्य छ,’ उनले भने, ‘जनप्रदर्शनमा एक लाख पार्टीका नेता, कार्यकर्ता तथा समर्थक उतार्ने कार्यमा सबैको सहयोग आवश्यक छ ।’ उनले २०८२ सालको पार्टी सदस्यता नवीकरणका लागि आग्रह गरेका हुन् ।
नेकपा एमालेको केराबारी गाउँपालिका पार्टी अध्यक्ष पूर्णबहादुर मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।