काठमाडौँ — सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा केबलकार निर्माणको सम्पूर्ण कामलाई तत्कालका लागि यथास्थितिमा राख्ने आदेश दिएको छ । यामबहादुर लिम्बू र अन्यक द्वारा दायर गरिएको रिटको आधारमा शारंगा सुवेदीको इजलासले पाथीभरा दर्शन केबलकार प्रालिविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अदालतको आदेश अनुसार दुवै पक्षलाई चैत २६ मा छलफलका लागि बोलाइएको छ । आदेशमा भनिएको छ, ‘निवेदनमा उठाइएको विषयवस्तुको प्रकृति र गम्भीरता हेर्दा दुवै पक्षको सुनुवाइ गरी अन्तरिम आदेश जारी हुने या नगर्ने भन्ने विषयमा निष्कर्षमा पुग्न उपयुक्त हुने देखिन्छ ।’

पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गर्दै आदिवासी, जनजाति लगायतका समुदायले आन्दोलन गरेका छन् । केबलकार निर्माणले आफ्नो सांस्कृतिक आस्थामाथि अतिक्रमण हुने उनीहरूको दाबी छ ।