मोरङ – विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थामा करोडौँ रुपैयाँ अपचलन भएको ठहर गर्दै मोरङ जिल्ला अदालतले अध्यक्षसहित तीन जनालाई कैद, जरिवाना र बिगो तिर्ने सजाय सुनाएको छ।

जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले बिहीबार सहकारी अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद, ६९ करोड ५९ लाख २१ हजार २६८ रुपैयाँ बिगो र सो बराबरकै जरिवाना तोकेको छ। साथै, पीडित राहत कोषमा २ करोड ७० लाख ३६ हजार ८५० रुपैयाँ बुझाउन पनि अदालतले आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार मणि पोखरेलले जानकारी दिए।

सहकारीका क्षेत्रीय प्रबन्धक मन्दीप खवासलाई २ वर्ष २ महिना कैद, २७ लाख रुपैयाँ बिगो र सोही बराबरको जरिवाना तोकिएको छ। उनलाई राहत कोषमा १ लाख ८ हजार रुपैयाँ जम्मा गर्न आदेश दिइएको छ।

त्यसैगरी सहकारीकी सचिव सविना न्यौपानेलाई २ वर्ष कैद र राहत कोषमा ६ सय रुपैयाँ बुझाउन आदेश दिइएको छ।

तुलसी सहकारीले सदस्यहरूबाट संकलन गरेको ठूलो रकम हिनामिना गरिएको भन्दै पीडितहरूले न्यायका लागि हारगुहार गरिरहेका थिए । अदालतको पछिल्लो फैसलाले लामो समयदेखि न्यायको पर्खाइमा रहेका पीडितहरूलाई आंशिक राहत मिलेको छ।

अदालतको यो फैसला नेपालको सहकारी प्रणालीमा देखिएको गम्भीर वित्तीय अनियमितता र दण्डहीनताको अन्त्यतर्फको एउटा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

#केदारनाथ# शर्मा