विराटनगर– राजसंस्था पुनस्र्थापनाको माग गर्दै काठमाडौंमा भएको प्रदर्शनका क्रममा अराजक गतिविधि र लुटपाटमा संलग्नहरूबारे सूचना दिन नेपाल प्रहरीले आग्रह गरेको छ ।
प्रहरी मुख्यालयद्वारा जारी सार्वजनिक सूचनामा अनुसन्धानको प्रमाण संकलनका लागि सर्वसाधारणसँग भएका तथ्यपरक सूचना (फोटो, भिडिओ, संलग्नको विवरण) उपलब्ध गराइ अनुसन्धानमा सहयोग गरिदिन भनिएको छ ।
काठमाडौंको तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटीलगायतका विभिन्न क्षेत्रहरूमा शुक्रबार निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत निजी तथा सरकारी सवारीसाधनहरूमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी आपराधिक गतिविधि भएको थियो । सूचनाकर्ताको गोपनीयता कायम रहनेसमेत बताइएको छ । सूचना पठाउनका लागि प्रहरीले ईमेल आईडी सार्वजनिक गरेको छ ।