विराटनगर— रौतहटको बृन्दावन, चन्द्रपुर, गढीमाई लगायतका नगरपालिकामा शनिबार बिहान भीषण हावाहुरीसहितको असिना–पानी परेपछि किसानहरूको बालीमा ठूलो क्षति पुगेको छ । मकै, गहुँ, तरकारी, फलफूल लगायतका बालीनाली तहसनहस भएका छन् ।
शनिबार बिहान २ बजेतिर चलेको हावाहुरीसहितको असिना–पानीले विशेष गरी गहुँबालीमा गम्भीर असर पुर्याएको छ । पाकिसकेको गहुँ असिनाले लडाएपछि किसानलाई ठूलो आर्थिक नोक्सानी भएको छ । बृन्दावनका किसान जोगेन्द्र साह भन्छन्, ‘केही दिनमा गहुँ भित्र्याउने तयारीमा थियौं, असिनाले पूरै नष्ट ग¥यो । १० कट्ठामा लगाएको गहुँबाली ध्वस्त भयो ।’
स्थानीय जनप्रतिनिधिहरूले किसानलाई राहत दिन सरकारसँग माग गरेका छन् । सांसद देवप्रसाद तिमल्सिना, युवराज भट्टराई र पूर्वसांसद कल्याणी खड्काले असिना–पानीले पुर्याएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरेका छन् ।
हालसम्म कुन पालिकामा कति क्षति पुगेको छ भन्ने आधिकारिक विवरण नआइसकेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपककुमार रायले बताएका छन् । कृषि ज्ञान केन्द्र गौरले भने क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ ।
कृषि विज्ञहरूका अनुसार असिनापानीले खेतबारीमा उभिएको बालीमा मात्र होइन, तयार भइसकेको उत्पादनमा समेत असर परेकाले किसानलाई तत्काल सहयोगको आवश्यकता छ । सरकारले बेलैमा राहतको व्यवस्था नगरे हजारौं किसानको पीडा झन् बढ्नेछ ।
(थप विवरण प्राप्त हुनेबित्तिकै अपडेट गरिनेछ)