विराटनगर– काठमाडौं जिल्ला अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरासहित ११ जनालाई पाँचदिन हिरासतमा राख्न अनुमति दिएको छ ।
प्रहरीले मिश्र, जबरा लगायत ११ जनालाई राज्यविरुद्धको अपराधको आरोपमा मुद्दा चलाएको हो । उनीहरू पक्राउ परेको दिनदेखि नै त्यो अवधि गणना हुनेछ ।
अदालतले दिएको अनुमति अनुसार प्रहरीले अब उनीहरुलाई कम्तीमा मंगलबारसम्म थुनामा राख्न पाउनेछ । न्यायाधीश तारादेवी महर्जनको इजलासले अन्य ३१ जनालाई आपराधिक उपद्रव र संगठीत अपराधसम्बन्धी कसुरमा चारदिन हिरासतमाहिरासतमा राख्न अनुमति दिएको हो । प्रहरीले करिब एक सय जनाको हाराहारीमा पक्राउ गरेपछि अहिलेका लागि ४२ जनालाई मात्रै अदालतमा पेस गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ ।
पक्राउ परेका स्वागत नेपाल लगायतहरुलाई भने प्रहरीले हाजिरी जमानीमा छाडेको छ । उनी घटनास्थलमा नदेखिएको कारण तारेखमा छोडिएको जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए । उनको परीक्षा समेत चलेकाले थप प्रमाण भेटिएको बखत मुद्दा चलाउने गरी रिहा भएका हुन् । राजावादीले गरेको प्रदर्शन हिंसात्मक भएसँगै उनीहरु पक्राउ परेका थिए ।