विराटनगर — राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेजीका लागि अहिले सबैभन्दा अनुकूल समय आएको बताएका छन् ।
१५ जेठका लागि घोषित आन्दोलनको सन्दर्भमा काठमाडौँमा कार्यालय रहेका मुख्य सञ्चार माध्यमका टाउकेहरुसँग भएको छलफलमा थापाले यस्तो अभिव्यक्ति दिएका हुन्। उनले भने, ‘पानी बाराबारको अवस्थाबाट राजावादी एकठाउँमा उभिने अवस्थामा पुग्यौं। गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता खारेजीका लागि यो सर्वाधिक अनुकूल अवस्था आएको छ भन्ने रियलाइजेसन भएको छ।’
उनले लामो समयदेखि छरिएर रहेका राजावादीहरू अहिले एकीकृत रूपमा संगठित हुँदै गएको उल्लेख गर्दै यो परिस्थिति राजसंस्थाका एजेन्डाहरू अघि बढाउन उपयुक्त भएको बताए।
थापाले दलहरू राजावादीहरूको वैचारिक अस्तित्व समाप्त पार्न सक्रिय रहेको आरोपसमेत लगाए। ‘राजावादी विचार प्रणाली नै संकटमा पार्ने षड्यन्त्र भइरहेको छ,’ उनले भने, ‘त्यसैको सन्दर्भमा यो रियलाइजेसन महत्वपूर्ण हो।’
त्यस्तै उनले वर्तमान सरकारले गणतन्त्रको विरोध गर्नु राज्यद्रोह हुने गरी कानुन बनाउन खोजिरहेको पनि आरोप लगाए।छलफलमा थापाले राजसंस्थाको नेतृत्वबारे स्पष्ट धारणा पनि राखे। उनले राष्ट्रिय सहमति भएमा युवराज हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताए। ‘उहाँ अहिले २०/२१ वर्षका हुनुहुन्छ, सहमति भयो भने उहाँलाई राजा बनाऔं,’ थापाले भने।
तर उनले वैकल्पिक रूपमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि तयार हुनुपर्ने उल्लेख गरे। ‘अब वृद्ध राजा चाहिन्छ भन्नुहुन्छ भने त्यसमा ज्ञानेन्द्र शाह पनि तयार हुनुपर्छ। सहमतिमा आउनुपर्छ,’ उनले भने।
छलफलमा राप्रपाका अर्का अध्यक्ष राजेन्द्र लिङ्देनले पनि धारणा राख्दै १५ जेठको शान्तिपूर्ण आन्दोलनलाई प्रधानमन्त्री स्वयंले भड्काउन खोजेको आरोप लगाए।राप्रपाले १५ जेठमा संविधान संशोधन, राजसंस्थाको पुनःस्थापना, हिन्दू राष्ट्र घोषणालगायतका मागसहित शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरिसकेको छ।
आन्दोलनलाई सरकारले दमन गर्नसक्ने आशंका व्यक्त गर्दै राजावादी समूहका नेताहरूले निष्पक्ष निगरानीको अपिल गरेका छन्। लिङ्देन, थापा, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट र आन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले सरकार नियोजित रूपमा प्रतिवादमा उत्रिनसक्ने भन्दै सचेत रहन अनुरोध गरे।
लिङ्देनले चैत १५ मा आन्दोलनमा गोली चलाएको घटनाको स्मरण गर्दै प्रधानमन्त्रीकै अभिव्यक्तिले अहिलेको आन्दोलन पनि भड्किन सक्ने संकेत दिएको बताए। थापाले गणतन्त्र पक्षधर दलहरू राजावादी विचार समाप्त पार्न सक्रिय रहेको जिकिर गर्दै शान्तिपूर्ण आन्दोलनको गम्भीर निगरानीको माग गरे।
नेता विष्टले आन्दोलन भद्र अवज्ञाको स्वरूपमा हुने उल्लेख गर्दै प्रधानमन्त्रीको उत्तेजक अभिव्यक्तिका कारण पत्रकारहरूको सहयोग अपरिहार्य भएको बताए। सुवेदीले आन्दोलनअघि प्रधानमन्त्रीबाट चैत १५ जस्तै अभिव्यक्ति आएको भन्दै सत्य र सन्तुलित समाचार सम्प्रेषणका लागि आग्रह गरे।राजावादी पक्षले आन्दोलनको प्रकृति शान्तिपूर्ण हुने बताउँदै संभावित दमनको खतरा प्रति सञ्चार जगतको ध्यानाकर्षण गराएका छन्।
#राप्रपा