विराटनगर– लेनदेनको विषयमा विवाद हुँदा एक समुहले काठमाडौंको गोकर्णेश्वर बाहुनधारा बस्दै आएका सर्लाही चक्रघट्टा–८ का १९ वर्षीय राहुल साहको हत्या गरेको खुलेको छ ।
हत्या आरोपमा प्रहरीले भारतको बिहार घर भइ काठमाडौं दक्षिणढोका बस्ने २९ वर्षीय सुनिल शर्मा, सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ का २२ वर्षीय निपु मण्डल, चक्रघट्टा–६ का १८ वर्षीय विजय यादव, १८ वर्षीय करन कुमार महतो, २३ वर्षीय जोधन मण्डल र ४५ वर्षीय उत्तम मण्डललाई पक्राउ गरेको छ ।
११ चैतदेखि राहुल हराइरहेको भन्दै प्रहरी वृत्त बौद्धमा उजुरी समेत परेको थियो । खोजतलासको क्रममा १५ चैतमा उनको शव माकलबारीमा सञ्चालित आरके मोटरसाइकल वर्कसपको पछाडिको जमिनमा गाडिएको अवस्थामा फेला परेको थियो । गाडिएको अवस्थामा शव भेटिएपछि हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा ६ जनालाई पक्राउ गरेको प्रहरीले भनेको छ ।