क्वालालम्पुर (एपी)– मलेसियाको राजधानी क्वालालम्पुर नजिकै रहेको सेलाङ्गोर राज्यको पुत्रा हाइट्स क्षेत्रमा मंगलबार बिहान ग्यास पाइपलाइन विस्फोट हुँदा तीन बालबालिका सहित १४५ जना घाइते भएका छन् । यो एक मलेसियाली बहुराष्ट्रिय तेल र ग्यास कम्पनि पेट्रोनासद्वारा सञ्चालित छ ।

६७ जनाको सरकारी अस्पतालहरूमा दोस्रो र तेस्रो डिग्रीको जलनको उपचार भइरहेको छ । ३७ जनाले निजी अस्पताल तथा क्लिनिकहरूमा उपचार गराएका छन् । विस्फोटमा १९० घर र १४८ गाडीहरूमा क्षति पुगेको छ ।

विस्फोटपछि उठेको आगोको लप्काले २० तले भवन बराबरको उचाइमा ज्वाला देखिएको थियो । यसबाट  नजिकैको आवासीय क्षेत्र प्रभावित भयो । प्रधानमन्त्री अनवर इब्राहिमले प्रभावित क्षेत्रको भ्रमण गरी पीडितहरूलाई आर्थिक सहायता घोषणा गरेका छन् ।

सरकार तथा पेट्रोनासले क्षतिग्रस्त घरहरूको मर्मत गर्ने प्रतिबद्धता जनाएका छन् । यसमा केही महिना लाग्न सक्ने अनुमान गरिएको छ । अहिले विस्फोटको कारणबारे अनुसन्धान जारी छ । घटनास्थलको २ सय ९० मिटर वरपरको क्षेत्रलाई अस्थायी रूपमा बन्द गरिएको छ । यस घटनाले स्थानीयलाई ठूलो आघात पुर्याएको छ । कतिपयले घरको छत खसेको अनुभव गरेका छन् । अन्यले भूकम्प जस्तो कम्पन महसुस गरेका छन् ।