काठमाडौं– फोहोर नगरी र केही नभत्काइ आन्दोलन गरेकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले आन्दोलनरत शिक्षकहरूलाई धन्यवाद दिएका छन् । शिक्षकहरूले बुधबारदेखि  काठमाडौं केन्द्रीत आन्दोलन थालेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले महानगरले जरिवाना खोजेको नभइ चेतना खोजेको समेत उल्लेख गरेका छन् । ‘सार्वजनिक सम्पति आफ्नो हो भनेर जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो । यही शिक्षा तपाईले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला,’उनले लेखेका छन्,‘तपाईहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईहरूको त झन् ठूलो जिम्मेवारी र भूमिका छ यसमा ।’ 

आफ्नो कुरा राख्नलाई विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिन समेत बालेनले अनुरोध गरेका छन् । बालेनले गाउँगाउँमा सिंहदरबार भन्ने त नारामा मात्र सिमित भएको बताउँदै एकदिन आफ्नो अधिकारको लागि काठमाडौ धाइरहनु नपर्ने अवस्था आउनेमा आशा व्यक्त गरेका छन् ।