विराटनगर — भिजिट भिसाका नाममा संगठित रूपमा मानव तस्करी भएको पक्का हुँदै जाँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) संयुक्त रूपमा अनुसन्धानमा खटिएका छन्। गृह मन्त्रालयकै संलग्नता देखिएको यो प्रकरणमा सहसचिव तीर्थराज भट्टराई, ट्राभल व्यवसायी बालकृष्ण खड्का लगायतकाहरू मुख्य अभियुक्तका रूपमा देखिएका छन्।

गत बुधबार सीआइबीले अख्तियारको अनुरोधमा हात्तीसारस्थित ‘ग्रिनलाइन होलिडेज’ कार्यालयमा छापा मारी प्रबन्ध निर्देशक खड्कालाई पक्राउ गरी अख्तियारलाई बुझाएको थियो। त्यसअघि विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा हानी अख्तियारले सहसचिव भट्टराईलाई नियन्त्रणमा लिएको थियो।

अन्तर्राष्ट्रिय सिमकार्ड प्रयोग र गुप्त सञ्चार प्रणाली
अख्तियारको प्रारम्भिक छानबिनले अध्यागमन कर्मचारीहरूले निगरानीबाट उम्कन विदेशी सिमकार्ड प्रयोग गर्दै विच्याट, स्न्यापच्याट, इमो जस्ता एपमार्फत एजेन्टहरूसँग संवाद गर्ने गरेको पत्ता लगाएको छ। छानबिनमा युएई लगायतका देशका सिमकार्ड प्रयोग गरिएको प्रमाण फेला परेको छ।

स्रोतका अनुसार सहसचिव भट्टराई, खड्का, कविता पौडेल र खगेन्द्र सुवेदीका मोबाइल जफत गरी डिजिटल फरेन्सिक परीक्षण भइरहेको छ। परीक्षणबाट सेटिङसम्बन्धी थप प्रमाण हात लाग्ने अख्तियारको विश्वास छ।

मन्त्रालयको संरक्षण, दैनिक २०० जनासम्मको अवैध उडान
अख्तियार स्रोतका अनुसार अध्यागमनको सेटिङ गृह मन्त्रालयकै संरक्षणमा सञ्चालन हुँदै आएको छ। भिजिट भिसामा दैनिक औसत २०० जनासम्मलाई विभिन्न मुलुक उडाउन सेटिङ मिलाइन्थ्यो भने सेटिङमा नपरेका यात्रुहरू विमानस्थलबाटै फर्काइन्थे। यसले यो प्रणाली संस्थागत ढंगले सञ्चालन भएको प्रमाणित गर्छ।

सहसचिव भट्टराईको अमेरिकी भिसा रद्द, सम्पत्ति छानबिन सुरू
यही प्रकरणसँगै काठमाडौंस्थित अमेरिकी दूतावासले सहसचिव भट्टराई र उनकी श्रीमतीको अमेरिकी भिसा रद्द गरेको छ। अख्तियारले उनका बैंक खाता रोक्का राखेको छ भने अब सम्पत्ति शुद्धताको अनुसन्धान अघि बढाइँदैछ।

संलग्न समूहमाथि थप अनुसन्धान
अख्तियारका अनुसार यो घटनामा संलग्न कर्मचारी र एजेन्टहरूको कोर समूह पहिचान भइसकेको छ। दोस्रो चरणमा थप अध्यागमन कर्मचारीमाथि छानबिन हुने छ। अनुसन्धान संगठित, योजनाबद्ध र बहुआयामिक रूपमा अघि बढिरहेको अधिकारीहरूले बताएका छन्।सीआईबीका एक अधिकारीका अनुसार यदि मानव तस्करी र आर्थिक अपराधको प्रमाण बलियो रूपमा भेटिएमा प्रहरीतर्फबाट पनि मुद्दा अगाडि बढ्न सक्छ।

भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीको यो प्रकरणले नेपाली अध्यागमन प्रणालीभित्रको गहिरो भ्रष्टाचार, राजनीतिक संरक्षण र आपराधिक गिरोहबीचको साँठगाँठलाई उजागर गरेको छ। सरकारी संयन्त्रकै संरक्षणमा हजारौँ नेपालीहरूलाई ठगी र बेचबिखनको दलदलमा धकेल्ने यस्तो अभ्यासमाथि अब गहिरो र कठोर कानुनी कदम आवश्यक देखिन्छ।

#भिजिट #भिसा