विराटनगर– ‘नो केबलकार’ पक्षले चैत २५ देखि कोशी प्रदेश क्षेत्रमा आह्वान गरेको अनिश्चितकालीन यातायात बन्द तत्काललाई स्थगित गरेको छ ।
आन्दोलनरत ‘नो केबलकार’ पक्षले एशियन हाइवेबाट उत्तरी खण्ड, मेची राजमार्ग, तमोर करिडोर र धनकुटे रोड लागयतका क्षेत्रमा सवारी आवागमन बन्द गर्ने भनेको थियो । ‘नो केबलकार’ पक्षधरका अगुवामध्येका राम मादेनले मुक्कुमलुङ (पाथीभरा) केबलकारका विषयमा सर्वोच्च अदालतले गत चैत १३ मा जारी गरेको आदेशसहितका विषयलाई ध्यान दिँदै चैत २५ देखि आह्वान भएको अनिश्चितकालीन यातायात बन्द अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको जनाएका छन् ।
सर्वोच्चका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले पाथीभरा केबलकार निर्माण कार्य तत्काललाई यथास्थितिमा राखी अन्तरिम आदेश सम्बन्धमा पाथीभरा देवी दर्शन केबलकार प्रालिलाई छलफलका लागि बोलाउने गरी पेशी तोकेको थियो । उक्त प्रालिलाई विपक्षी बनाइ निवेदक यामबहादुर लिम्बूसहितले दायर गरेको उत्प्रेषण मुद्दामा सर्वोच्चले यस्तो आदेश दिएको थियो ।