विराटनगर- राजावादीहरुले आज (आइतबार) दिउँसो त्रिभुवन विमानस्थल वरपर पूर्व राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने तयारी थालेपछि सुरक्षा निकायहरु सतर्क भएर बसेका छन् । उनी दिउँसो ३ बजे समिट एअरको उडानमा पोखराबाट काठमाडौं आउँदैछन् । हिउँद लागेपछि ज्ञानेन्द्र शाह लुम्बिनी,कर्णाली र गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गर्दैथिए ।
आज उनको स्वागतका लागि राजेन्द्र लिंगदेन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, केशरबहादुर विष्ट नेतृत्वको राष्ट्रिय शक्ति नेपाल,दुर्गा प्रसाईंको राष्ट्र,राष्ट्रियता, धर्म,संस्कृति र नागरिक बचाऊ महाअभियानले आफ्ना नेता तथा कार्यकर्तालाई विमानस्थल आसपास उपस्थित हुन आह्वान गरेका छन् । पशुपति खड्काको युवा शक्ति नेपाल, अधिवक्ताहरु स्वागत नेपाल, ध्रुवलाल श्रेष्ठ,सन्तोष राजावादी संयोजक रहेको, सिलुकाजी महर्जनको नेवा: समाज,रमा सिंहको राष्ट्र बचाउ महासंग्राम,मुनिन्द्र राजभण्डारीले नेतृत्व गरेको आरटिएफ,कमल थापाको राप्रपा नेपालले पनि शाहको स्वागतमा उपस्थित हुन आग्रह गरेका छन् ।
अस्मिता भण्डारीको विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समिति,अनिल बाबा बस्नेतको शिव सेना नेपाल,चन्द्रबहादुर रामदामको राष्ट्रवादी नागरिक समाज,किशोरी महतोको राष्ट्रवादी बृहत समूह,राजु व्यञ्जनकार अध्यक्ष रहेको नेवाः एकता नागरिक समाज, धनेन्द्रबहादुर बस्नेतको मितेरी पार्टी,नेपाल पनि आजको कार्यक्रममा सामेल हुँदैछन् ।
यस्तै गोविन्द निरौलाको समाजवादी काँग्रेस,देवेन्द्र पौडेलको बीपी कांग्रेस, इश्वरीप्रसाद भट्टराईको नेपाल बचाऊ अभियान, वीरेन्द्र सेनको राष्ट्र बचाऊ महाअभियान,मनमोहन समशेर राणाको देशभक्त लोकतान्त्रिक पार्टी, बिसान्तर शाक्यको राजसंस्था पुनर्स्थापना संघर्ष समिति,सुशील बरालको बजरंग वैदिक सनातत संगठन,दिनेशराज पाण्डेको कफन,डा. मनोजकुरमार झा अध्यक्ष रहेको राष्ट्रिय नागरिक आन्दोलन एवं राष्ट्र बचाऊ अभियान र डा. महेन्द्रजङ्ग शाहको नेपाल एकता पार्टीले राजसंस्था पुनर्स्थापना गर्ने भन्दै पूर्वराजा शाहको स्वागत गर्न लागेका छन् ।
उनीहरुले त्रिभुवन विमानस्थल जानका लागि काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक,भक्तपुर, ललितपुर र काठमाडौँ महानगरपालिकाका कागेश्वरी,मनोहरा, पेप्सीकोला,कीर्तिपुर, चन्द्रागिरी,दक्षिणकाली, नागार्जुनबाट जानेलाई कोटेश्वरको तीनकुनेमा भेला हुन भनेका छन् । टोखा,गोकर्णेश्वर, बूढानीलकण्ठ,तारकेश्वर, नुवाकोट र धादिङबाट आउनेलाई गौशालामा जम्मा हुन भनिएको छ । आफूसँग भएका सवारी साधन प्रयोग गरेर तोकिएको ठाउँमा भेला हुन राजावादीहरुले आह्वान गरेका छन् । नेविसंघका पूर्व नेता ऋषिकेश शाह पनि यसमा जोडिएका छन् ।
सुरक्षा निकायले आज विमानस्थल,सिनामंगल, गौशाला हुँदै निर्मल निवाससम्म हुन लागेको राजावादीहरुको स्वागत कार्यक्रमलाई सावधानीका साथ विश्लेषण र अवलोकन गरिरहेको जनाएको छ । प्रहरीका अनुसार राप्रपालगायत राजनीतिक दलहरुले पूर्वराजालाई द्वन्द्व ननिम्तिने गरी विमानस्थलबाट सोझै निर्मल निवास लैजाने तयारी गरेका छन् । आरटिएफलगायत राजावादीहरुले चर्का नारा लगाउँदै शाहलाई नारायणहिटी दरबार लैजाने बताएका छन् । उनीहरुले सांकेतिक रुपमा राजालाई दरबारमा भित्र्याउन पहल गर्ने र सिनामंगल क्षेत्रमा भिडन्त गराएर विषयवस्तुलाई चर्काउने उद्देश्य राखेको प्रहरीको बुझाइ छ ।
कार्यक्रममा सहभागी गराउन काठमाडौं,भक्तपुर, ललितपुर, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक,मकवानपुर, धादिङलगायत जिल्लाबाट उपस्थित गराउन ती संघ संस्थाले त्यहाँका राजावादीहरुलाई आग्रह गरेका छन् । दुर्गा प्रसाईंले बैंकबाट लिएको कर्जा तिर्न नपर्ने चर्का भाषण गर्दै आएकाले बैंक तथा वित्तीय संस्थाका खराब ऋणीहरुले पनि उनका कार्यक्रममा सहभागिता जनाउने गरेको पाइएको छ ।
पछिल्लो समय दलका नेता तथा कार्यकर्ताको व्यवहार र जनप्रतिनिधिहरुको गलत गतिविधिबाट असन्तुष्ट व्यक्तिहरुले पनि ‘यीनीहरुभन्दा राजै ठीक’ भन्न थालेका छन् । बिहानैदेखि निर्मल निवास, चाबहिल,गौशाला, सिनामंगल र विमानस्थल वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सादा पोशाकका सुरक्षाकर्मीसमेत परिचालन गरेको नेपाल प्रहरीले बढीमा १० हजार जना राजावादीहरु उपस्थित हुन आकलन गरेको छ । साविककोभन्दा धेरैँ १ हजार ५ सयको संख्यामै आज प्रहरी खटाइएको स्रोतले जनाएको छ । राजतन्त्र पुनःस्थापना पक्षहरूको सक्रियताले सत्ता साझेदार दुई दल कांग्रेस र एमालेले पनि राजावादीहरूको गतिविधिलाई कसरी निस्तेज पार्ने र सरकारको भूमिका कस्तो रहने भन्ने विषयमा बालुवाटारकेन्द्रित छलफल गरिरहेका छन्। सरकारले १० हजार जनाको उपस्थिति हुने भने पनि राजावादीहरुले ५० हजार नागरिक प्रदर्शनमा सामेल हुने दाबी गरिरहेको छ ।