काठमाडौँ– तीनकुनेको हिंसात्मक प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रहरीकै माग अनुसार अनुसन्धानको म्याद तोकेका हुन् ।

प्रसाईंसँगै पक्राउ परेका उनका अंगरक्षक दीपक खड्काविरुद्ध पनि समान म्याद थप भएको छ । क्यान्सर रोगी प्रसाईंलाई चिकित्सकको परामर्शमा उपचारको प्रबन्ध मिलाउन पनि अदालतले प्रहरीलाई आदेश दिएको छ ।

यसअघि २६ चैतमा राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको थियो ।  उनीहरूसँगै म्याद मिलान गर्नका लागि १२ दिनको म्याद थप गर्नका लागि प्रहरीले समय मागेको हो । भारतको आसाम क्षेत्रमा बिहीबार राति उनलाई नियन्त्रणमा लिइएको थियो । 

प्रसाईंलाई शुक्रबार बिहान भारतबाट झापा ल्याइ पुर्याइएको थियो । झापा प्रहरीमा पक्राउ प्रक्रिया पुरा गरेर दिउँसो काठमाडौँ ल्याइएको थियो । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा उपस्थित गराइ म्याद थपका लागि अदालत लगिएको थियो । 

व्यवसायी प्रसाईंले अगुवाइ गरेर चैत ४ मा राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो । सुवेदीले प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर  घोषणा गरेका थिए ।  १५ चैतको प्रदर्शनको क्रममा भएको हिंसामा एक सञ्चारकर्मीसहित २ जनाको मृत्यु भएको थियो । साथै दर्जनौँ गाडीमा आगजनी र व्यक्तिगत तथा सरकारी सम्पत्तिमा समेत आगजनी भएको थियो ।