विराटनगर– जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई ठगी र आपराधिक विश्वासघातको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर जिल्ला प्रहरी परिसरमा दर्ता भएको जाहेरीका आधारमा सप्तरीको राजविराजबाट यादवलाई पक्राउ गरिएको हो । सप्तरीका प्रहरी प्रमुख (एसपी) ढकेन्द्र खतिवडाका अनुसार ललितपुर प्रहरीको अनुरोधमा यादवलाई नियन्त्रणमा लिइएको हो ।

‘ललितपुर प्रहरीको पत्रको आधारमा उहाँलाई पक्राउ गरिएको हो,’ एसपी खतिवडाले भने, ‘अब अनुसन्धानका लागि ललितपुर पठाइनेछ ।’ ललितपुर प्रहरीले जनमत पार्टीका कोषाध्यक्ष यादवमाथि ठगी र आपराधिक विश्वासघात सम्बन्धी उजुरी दर्ता भएको पुष्टि गरेको छ ।

घटनासँग सम्बन्धित थप विवरण प्रहरीले सार्वजनिक गरिसकेको छैन । यादव सँग सम्बन्धित यो घटनाले संघीय संसदमा प्रतिनिधित्व गर्ने नयाँ दलका पदाधिकारीहरू समेत कानूनी कारबाहीको दायरामा पर्ने अवस्था रहेको देखाएको छ ।