विराटनगर– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने वस्तुहरूमा १४५ प्रतिशतसम्म ट्यारिफ लगाउने घोषणा गरेपछि, चीनले पनि जवाफस्वरूप अमेरिकी उत्पादनहरूमा १२५ प्रतिशतसम्म ट्यारिफ लगाउने निर्णय गरेको छ । चीनको वाणिज्य मन्त्रालयले नयाँ ट्यारिफ (आयात कर÷सीमा शुल्क) शनिबारदेखि लागू हुने जनाएको छ ।

यसअघि ट्रम्पले चीनमाथि ३४ प्रतिशत अतिरिक्त ट्यारिफ घोषणा गरे पछि चीनले पनि समान अनुपातमा ट्यारिफ लगाएको थियो । त्यसपछि ट्रम्पले थप ५० प्रतिशत ट्यारिफ घोषणा गरे जसको जवाफमा चीनले पनि ५० प्रतिशत थप गर्दै ८४ प्रतिशत पुर्याएको थियो । अब ट्रम्पले कुल १४५ प्रतिशत ट्यारिफ घोषणा गरेपछि, चीनले पनि १२५ प्रतिशत ट्यारिफ लगाउने निर्णय गरेको हो ।

चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले भने, ‘अब यो एक मजाक बन्नेछ ।’ उनले अमेरिकाको करले उसको धम्की र दबाबलाई उजागर गरेको बताए । विश्लेषकहरूका अनुसार चीनको यो कदमले अमेरिकी अर्थतन्त्रका विभिन्न पक्षहरूलाई असर पार्नेछ । तर चीनले सबै अमेरिकी सामानमा नभइ निश्चित उत्पादनहरूमा मात्र ट्यारिफ लगाएको छ जसले व्यापार वार्ताको ढोका खुला राख्ने संकेत दिन्छ ।

अहिलेको अवस्थामा चीनले व्यापार युद्धलाई चर्काउनुभन्दा वार्ताको माध्यमबाट समाधान खोज्न चाहेको देखिन्छ । ट्रम्प प्रशासनले भने थप ट्यारिफ लगाउने संकेत दिँदै आएको छ जसले दुई देशबीचको व्यापार सम्बन्धमा थप तनाव सिर्जना गर्न सक्छ ।