काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसम्बन्धी आफ्ना अघिल्ला भनाइको खण्डन गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले अघिल्लो सार्वजनिक कार्यक्रममा गलत सूचनाका आधारमा बोलेको स्वीकार गर्दै भने, ‘मैले भारतका उत्तर प्रदेशका मुख्यमन्त्री दिल्लीस्थित नेपाली दूतावासमा आएका थिए भनेर भनेको थिएँ, तर त्यो सही होइन । मुख्यमन्त्री आदित्यनाथ दूतावासमा आउनु भएको थिएन । भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले उहाँलाई भेट्दा त्यस क्रममा नेपालको राजतन्त्रप्रति समर्थन नभएको विषय उठेको हो ।’
देउवाले योगी आदित्यनाथले ‘हामी नेपालमा राजतन्त्रको पक्षमा छैनौं, मेरो फोटो छापे पनि त्यसको समर्थन होइन’ भन्ने आशयको कुरा गरेको दाबी गरे । ‘हामी नेपालमा राजाको पक्षमा छैनौं भन्ने कुरा बेकारको हल्ला हो भन्नु भएको हो । उहाँ दूतावास आउनुभएको कुराको म खण्डन गर्न चाहन्छु,’ देउवाले भने ।
देउवाले बोलको कुरा भारतीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पनि प्राथमिकता पाएको थियो । योे विषयलाई भारतको विदेश मन्त्रालय र सतारुढ भाजपाको विदेश विभागले गंभीरतापूर्वक लिएको थियो । गणेशमान सिंह फाउण्डेसनद्वारा सोमबार काठमाडौँमा आयोजित गोष्ठीमा उनले भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको योगदानको महत्व र नेपालमा प्रजातन्त्रको स्थापनामा भारतको समर्थनको चर्चा गर्ने क्रममा आदित्यनाथ दिल्लीस्थित नेपाली दूतावास पुगेर आफ्नो धारणा राखेको बताएका थिए ।
नेपालका राजावादीले व्यवस्थाविरुद्धको आन्दोलनमा आफ्नो फोटो बोकेको केही दिनमै आदित्यनाथले दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालको गणतान्त्रिक व्यवस्थामा आफ्नो समर्थन रहेको बताएको देउवाले भ्रामक अभिव्यक्ति दिएका थिए । व्यवस्थाविरोधीप्रति कुनै समर्थन नरहेको आदित्यनाथले बताएको दाबी गर्दै देउवाले उनलाई सार्वजनिक रुपमा धन्यवाद पनि दिएका थिए ।
त्यस पछि भारतको केन्द्र सरकारले मुख्यमन्त्री योगीसँग यस बारेमा थप बुझ्दा देउवाले बोलेको कुरा तथ्यहीन भएको प्रमाणित भएको थियो । भाजपाको विदेश विभागको निर्देशन अनुरुप मुख्यमन्त्री योगीले फोन संवादमा देउवालाई के आधारमा बोलेको भनेर सोध्दा गलत सूचनाका कारणले यस्तो अभिव्यक्ति दिएको भन्दै क्षमा मागेका थिए । योगीले सार्वजनिक कार्यक्रमममा बोलिएका कुरालाई सार्वजनिक रुपमै सच्याउनु पर्छ भने पछि दबाबमा रहेका देउवाले आज उक्त भनाइको माफीनामाकै शैलीमा खण्डन गरेको स्रोतले जनाएको छ ।