वीरगञ्ज, पर्सा — हनुमान जयन्तीको शोभायात्राका क्रममा भएको झडपपछि उत्पन्न तनाव कम गर्न आइतबार वीरगञ्जमा सर्वदलीय बैठक बसेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा बसेको बैठकले धार्मिक सहिष्णुता खल्बल्याउने कार्यमा संलग्न जो–कोहीलाई कानूनी दायरामा ल्याएर कडा कारबाही गर्न माग गरेको छ ।
शनिबार वीरगञ्जमा शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएको थियो । झडपमा सुरक्षाकर्मी, सञ्चारकर्मी र सर्वसाधारण घाइते भएका थिए । प्रहरीको प्रारम्भिक जानकारी अनुसार केही व्यक्तिहरूले उत्तेजनापूर्ण नाराबाजी गर्दै शोभायात्रा संवेदनशील क्षेत्रतर्फ डोर्याएका थिए जसले गर्दा स्थिति बिग्रिएको थियो ।
बैठकमा नेपाल प्रहरी पर्साका प्रमुख एसपी गौतम मिश्र, सशस्त्र प्रहरीका एसपी राधेश्याम धिमाल, नेपाली सेनाका श्री श्रीजंग गणका प्रतिनिधि, प्रमुख दलका जिल्ला अध्यक्षहरू र शोभायात्रा आयोजक पक्षका प्रतिनिधिहरूको सहभागिता थियो । बैठकले तीन बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै धार्मिक सद्भाव बिगार्ने कुनै पनि गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरेको छ।
प्रतिबद्धताअनुसार अबदेखि कुनै पनि संघसंस्था वा समुदायले साम्प्रदायिक तनाव सिर्जना हुने खालका र्याली, बन्द वा प्रदर्शन गर्ने छैनन् । बैठकले सामाजिक सद्भाव कायम राख्न सर्वसाधारणसँग अपिलसमेत गरेको छ ।
झडपका क्रममा घाइते भएका सुरक्षाकर्मी, सञ्चारकर्मी र नागरिकको उपचार सरकारले गर्नुपर्ने माग बैठकले अघि सारेको छ । बैठकमा कांग्रेसका कार्यवाहक जिल्ला अध्यक्ष रामनारायण कुर्मी, एमालेका जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, माओवादी केन्द्रका विजय महतो, जसपा नेपालका रामनरेश यादव, जसपाका तवरेज अहमद, आम जनता पार्टीका भोला पटेल, जनमत पार्टीका ओमप्रकाश सर्राफ लगायत सहभागी थिए ।
शोभायात्रा आयोजक पक्षबाट दीपक पटेल र अभिषेक तिवारी सहभागी थिए । स्थानीय प्रशासनले मुस्लिम समुदायका अगुवाहरूसँग छुट्टै छलफल गरी फेरि सबै सरोकारवालाहरू सहभागी हुने गरी अर्को सर्वपक्षीय बैठक आह्वान गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ ।