काठमाडौँ — राजसंस्था पुनःस्थापनाको मागसहित सुरु भएको आन्दोलनले राष्ट्रव्यापी स्वरूप लिँदै जाँदा सत्ता गठबन्धनको नेतृत्वकर्तामध्ये एक दल नेपाली कांग्रेसले राजसंस्थाप्रति आफ्नो पुरानो असहिष्णु धारणा परिवर्तन गर्ने संकेत दिएको छ।कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक राजसंस्थाको विषयमा आफू नकारात्मक नरहेको र पूर्वनवयुवराज हृदयेन्द्र वीरविक्रम शाह राजा बनेमा समर्थन जनाउने संकेतसहित सन्देश पठाएको दाबी गरिएको छ।

एक कांग्रेसी नेताका अनुसार देउवाको सन्देश हाल निर्मल निवासमा पुगेको छ। ‘देउवाले संवैधानिक राजसंस्थाबारे लचक धारणा बनाउँदै एक दूतमार्फत सन्देश पठाउनुभएको हो,’ ती नेताले भने ।

यो घटनाक्रम ‘निर्णायक आन्दोलन’ भन्दै राजसंस्थाको पक्षमा जेठ १५ देखि सुरु हुने घोषणा, नेकपा एमाले र कांग्रेसबीच बढ्दो तिक्तता र देशका झन्डै ७० जिल्लामा आन्दोलनले पाएको समर्थनको सन्दर्भमा आएको हो। आन्दोलनको पक्षमा पूर्वराजा ज्ञानेन्द्र शाहले समेत अपिल सार्वजनिक गरिसकेका छन्।

कांग्रेसभित्र पनि राजसंस्थाको विषयमा बहस चुलिँदो छ। देउवाको सन्देश पछ्याउँदै कांग्रेसका अर्का नेता शेखर कोइरालाले धर्मनिरपेक्षता र गणतन्त्र दुवैबारे जनमत संग्रहमा जानुपर्ने प्रस्ताव सार्वजनिक गरेका छन्।

२०५८ मा तय भएको निर्वाचन नगराइ सत्तामा टिकिरहँदा राजा ज्ञानेन्द्रले देउवालाई बर्खास्त गरेका थिए। पुनर्बहालीपछि देउवाले ‘गोरखाका राजाले न्याय दिन्छन्’ भन्ने अभिव्यक्ति दिएका थिए। तर २०६१ माघ १९ मा दोस्रोपटक बर्खास्त भएपछि उनी गणतन्त्र पक्षमा उभिएका हुन्।

हाल प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सत्ता गठबन्धनमा आलोपालो नेतृत्वको सर्तमा सहभागी भएका देउवामाथि कांग्रेसभित्र हिन्दू राष्ट्रको मागसहित संवैधानिक राजसंस्थाको समर्थन गर्ने ५० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको लिखित दबाब विचाराधीन रहेको बताइन्छ।

पार्टीभित्र वरिष्ठ नेतादेखि केही सांसद्हरूसम्मले संस्थापक नेता बीपी कोइरालाको मेलमिलाप नीति अवलम्बन गर्नुपर्ने भन्दै अनौपचारिक दबाब बढाइरहेका छन्।राजसंस्थाका पक्षमा सक्रिय आन्दोलनकारी नवराज सुवेदीले भने, ‘हामी राजसंस्था पुनःस्थापना र हाम्रा सबै मागबारे राष्ट्रिय सहमतिको प्रक्रियामा छौँ।’

नेपाली कांग्रेसले राजसंस्थाबारे पार्टी सभापति देउवाको धारणा भनेर चर्चा भइरहेको विषयबारे प्रस्ट पारेको छ । बिहीबार एक विज्ञप्तिमार्फत कांग्रेसले देउवाको भनाइका नाममा भ्रामक र कपोलकल्पितरूपमा प्रचारप्रसार गरिएको बताएको हो ।

'कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनी सञ्चार माध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो । उहाँले कहीँ कतै नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आमसञ्चारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो,' विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले अगाडि भनेको छ, 'जो सुकैले यस्तो कार्य गरेको भएता पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ ।'

#हृदयेन्द्र #वीर#विक्रम# शाह