पर्सा — वीरगन्जमा शनिबार हनुमान जयन्तीका अवसरमा शोभायात्राका क्रममा उत्पन्न तनावपछि आइतबार साँझ जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले पाँच बुँदे निर्णय गरेको छ । बैठकले घटनामा संलग्न दोषीहरूमाथि विस्तृत अनुसन्धान गरी कानुनी कारबाही गर्ने निर्णय गरेको छ । साथै धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षले पूर्ण प्रतिबद्धता जनाएका छन् ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले कानुनी प्रक्रियामा सबै पक्षको सहयोग रहने, घाइतेहरूको निःशुल्क उपचार गर्ने र घटनाबाट भएको क्षतिपूर्तिको लागि प्रशासनले पहल गर्ने निर्णय गरेको हो । उक्त घटनामा नागरिक, सञ्चारकर्मी र सुरक्षाकर्मी घाइते भएका थिए ।
धार्मिक, सांस्कृतिक कार्यक्रममा हतियारको प्रदर्शन नगर्न र गरेमा कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ । साथै जिल्लामा सञ्चालनमा रहेका सबै धार्मिक संघ–संस्था तथा तिनबाट सञ्चालित विद्यालय वा मदरसाको सूक्ष्म अनुगमन गरी समस्या देखिएमा कारबाही गर्ने सहमति भएको छ ।
शनिबार अपराह्न वीरगन्ज–२ स्थित जामा मस्जिद अगाडि शोभायात्राका क्रममा दुई समूहबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । बैठकमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र, सशस्त्र प्रहरी बलका प्रमुख एसपी राधेश्याम धिमाल, राष्ट्रिय अनुसन्धान विभागका प्रहरी उपरीक्षक दिलिप सिंह, नेपाली सेनाका कर्नेल निराजन कटुवाललगायत सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी थिए ।
त्यसैगरी, कांग्रेस, एमाले, माओवादी, जसपा, जनमत पार्टी, आम जनता पार्टीलगायत दलका जिल्ला अध्यक्ष तथा शोभायात्रा आयोजक समूहका प्रतिनिधिहरू पनि बैठकमा सहभागी थिए। यसअघि आइतबार बिहान बसेको सर्वदलीय बैठकले पनि धार्मिक सहिष्णुता कायम राख्न अपिल गर्दै तीन बुँदे प्रतिबद्धता सार्वजनिक गरेको थियो ।