काठमाडौँ– देशका पहाडी र हिमाली क्षेत्रहरूमा आज (मंगलबार) आंशिकदेखि साधारण बदलीसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी, बागमती र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने देखिएको छ । यस्तै कोशी र गण्डकी प्रदेशका केही पहाडी स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा पनि हुन सक्ने सम्भावना छ ।

बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने भए पनि केही स्थानमा आंशिक बदली रहन सक्ने महाशाखाको पूर्वानुमान छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहने र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ । महाशाखाले सम्भावित वर्षा र हिमपातका कारण यात्रु तथा स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।