विराटनगर- तेस्राे संस्करणकाे मनमाेहन मेमाेरियल एक दिवसीय क्रिकेट प्रतियाेगिता बैसाख १३ गतेदेखि २० गतेसम्म हुने भएकाे छ । एम.एम. कप फाउण्डेशन इनरूवा, सुनसरीकाे आयाेजनामा ५० ओभरकाे एक दिवसीय क्रिकेट प्रतियाेगिता विराटनगरस्थित बैजनाथपुर क्रिकेट रंगशालामा हुन गइरहेकाे हाे ।

प्रतियाेगितामा भारतकाे असाम क्रिकेट टिम, घरेलु टिम काेशी प्रदेश, बागमति प्रदेश, विभागीय टाेली नेपाल पुलिस क्लब, आर्मी क्लब र सशस्त्र प्रहरी क्लब सहभागी हुने फाउण्डेशनका अध्यक्ष विप्लव घाेषले जनाएकाे छ ।

एक कराेड लागतमा आयाेजना भइरहेकाे प्रतियाेगिता विजेतालाई नगद ४ लाख र ट्रफी, उपविजेतालाई २ लाख र ट्रफी, प्लेयर अफ द टुर्नामेन्टकाे उपाधी जित्ने खेलाडीलाई २५ हजार, बेष्ट ब्याटर र बलरलाई १५-१५ हजार र प्लेयर अफ द म्याचकाे उपाधी जित्ने खेलाडीलाई नगद ४ हजार प्रदान गर्ने अध्यक्ष घाेषले बताएका छन् ।

फाउण्डेशनले यसअघि आयाेजना गरेका पहिलाे र दाेस्राे संस्करणकाे प्रतियाेगितामा आर्मी क्लब लगातार विजेता भएकाे थियाे । पहिलाे र दाेस्राे संस्करणकाे प्रतियाेगिता १२-१२ वटा टाेली सहभागी भए पनि यसपटककाे तेस्राे संस्करणकाे समय अभावले ६ वटा टाेली मात्रै सहभागी गराएकाे उनले बताएका हुन् ।