विराटनगर- नेपाल चिकित्सक संघ, कोशी शाखाले देशभरका आवासीय चिकित्सकहरूले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै काेशी अस्पतालमा शुक्रबार उपचार ठप्प पारेकाे छ । तर चिकित्सकहरूले निजी अस्पताल र क्लिनिकहरूमा उपचार गरिरहेका छन् ।

काेशी अस्पतालकाे बहिरंग सेवा सञ्चालन कक्षमा ताला लगाएर उपचार ठप्प पारेकाे हाे । आकस्मिक र अन्तरंग सेवा सुचारू छ । काेशी अस्पतालकाे बहिरंग सेवा ठप्प हुँदा गाउँगाउँबाट उपचारका लागि आएका गरीव, विपन्न परिवारका बिरामी उपचार नै नगराई फर्किन बाध्य भएका हुन् ।

आवासीय चिकित्सकहरूलाई सेवा सुविधा नदिने नाेवेल र विराट शिक्षण अस्पतालमा भने चिकित्सकहरूले बिरामीकाे उपचार गरिरहेका छन् । अधिकांश निजी अस्पताल र चिकित्सकहरूले नै सञ्चालन गर्दै आएकाे क्लिनिकमा भने उपचार भइरहेकाे छ ।

संघका अध्यक्ष डा. राजेन्द्र चौधरी र महासचिव डा. बालकृष्ण साहलगायतका पदाधिकारीहरूले स्वास्थ्य संस्थाहरूमा उपचार ठप्प भए नभएकाे दिउँसाे अनुगमन गर्ने जनाएका छन् । संघले अघि सारेका प्रमुख मागमा आवासीय चिकित्सकलाई आठौं तहका चिकित्सक सरहको सेवा सुविधा अनुरूप निर्वाह भत्ता प्रदान गर्ने निर्णय निजी मेडिकल कलेजहरूमा समेत लागू गर्नुपर्ने जनाएकाे छ ।

यस्तै, चिकित्सकहरूको कार्यसमय (ड्युटी आवर) सम्बन्धी स्पष्ट र व्यावहारिक मापदण्ड निर्माण गर्नुपर्ने र देशभरका चिकित्सकहरूको भावना सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने माग गरेकाे छ ।

नेपाल चिकित्सक संघ, कोशी शाखाले बिहीबार सुनसरी र माेरङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै तत्काल माग पूरा नगरे शुक्रबारबाट उपचार सेवा ठप्प पार्ने चेतावनी दिएकाे थियाे । देशभरिमा चिकित्सक संघ काेशीले मात्रै उपचार सेवा ठप्प पारेर आवासीय चिकित्सककाे आन्दाेलनमा समर्थन जनाएकाे हाे ।