विराटनगर– त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले महेन्द्र मोरङ आदर्श बहुमुखी र डिग्री क्याम्पसलगायत देशभरिका १४ वटा आंगिक क्याम्पसमा स्ववियू निर्वाचन नहुने जनाए पनि निर्वाचन प्रक्रिया रोकिएको छैन । निर्वाचन नहुने भनिएका ती १४ वटै क्याम्पसहरुका निर्वाचन अधिकृतहरुले आफूहरुलाई निर्वाचन स्थगित भएको वा नहुने विषयमा कुनै किसिमको औपचारिक जानकारी प्राप्त नभएकोले निर्वाचन प्रक्रिया यथावत रुपमा सञ्चालन गरिरहेको बताएका छन् । 

महेन्द्र मोरङ क्यापस विराटनगरका निर्वाचन अधिकृत डा. शुशिल अधिकारीले विश्वविद्यालयले स्ववियू निर्वाचन नहुने वा स्थगित भएको बारेमा कुनै किसिमको औपचारिक जानकारी नआएकाले निर्वाचन कार्यतालिका अनुसारको प्रक्रिया नियमित रुपमा अघि बढाउँदै चैत ५ गते हुने हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरिसकेको बताएका हुन् । 

निर्देशनालय प्रमुख पशुपति अधिकारीले शनिबार विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी, डिग्री क्याम्पस, विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुर, काठमाडौंको नेपाल ल, सरस्वती, विश्वभाषा, पब्लिक युथ क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ, रामसागर बहुमुखी क्याम्पस बिरगञ्ज, सिद्धबाबा, सुर्खेत बहुमुखी, बुटवल बहुमुखी लगायतका आंगिक क्याम्पसमा उम्मेदवारको आधिकारिक्ता र सदस्यता विवादले हाललाई निर्वाचन स्थगित गरिएको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

शनिबार दिएको अभिव्यक्ति अनुसार निर्वाचन अधिकृतहरुले औपचारिक जानकारी नआएको विषयमा आइतबार पुनः सम्पर्क गर्दा अधिकारीले शनिबार क्याम्पसहरुको अवस्थाका बारेमा विशलेषण मात्रै गरेको र सम्बन्धित क्याम्पसहरुले अवस्था हेरेर निर्वाचनको विषयमा निर्णय लिन स्वतन्त्र रहेको बताए । देशभरिका क्याम्पसहरुमा अहिलेसम्म कहीको निर्वाचन स्थगित भएको विषयमा कुनै निर्णय नभएको उनले स्पष्ट पारेका हुन् ।