सिमकोट — व्यापार व्यवसायका लागि चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट जान चाहने नागरिकलाई जिल्ला प्रशासन कार्यालय सिमकोट, हुम्लाले अस्थायी प्रवेश पास वितरण गरेको छ। जिल्ला प्रशासन कार्यालयले उत्तरी नाम्खा गाउँपालिकाको सीमावर्ती क्षेत्रमा पुगेर ३७४ जनालाई अस्थायी प्रवेश पास वितरण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार पुराङ काउन्टीको ताक्लाकोटबाट तिब्बतका विभिन्न स्थानमा आवतजावत गर्न तुम्कोट, याल्वाङ, हिल्सा, यारीलगायत क्षेत्रमा पुगेका नागरिकहरूलाई नयाँ पास वितरण तथा पुराना पास नवीकरण गरिएको हो । पाण्डेयका अनुसार हालसम्म ताक्लाकोट आवतजावतका लागि सात हजार ५ सय ४५ जनाले प्रवेश पास लिइसकेका छन् ।

हिउँदयामका कारण यारी नाकाको ठाडो ढुंगा क्षेत्रमा सडक अवरुद्ध भएकाले गाडी यारीसम्म मात्र पुग्ने गरेको छ । यारीदेखि ओरालो दुई घण्टा पैदल यात्रा गरेर हिल्सा पुग्नुपर्ने र हिल्साबाट यारी फर्किंदा उकालो चार घण्टा पैदल हिँड्नुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए। सीमावर्ती क्षेत्रमा पास वितरणका क्रममा चीनको ताक्लाकोटबाट नवीकरणका लागि बाटोमा आफूसँगै आएका दुई जनालाई समेत पास वितरण गरिएको उनले बताए।