विराटनगर – चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्ती 'मकुना' को मृत्युका विषयमा गठित छानबिन समितिले काम थालेको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा तैनाथ सेनाको गोली लागेर माघ २३ मा मकुनाको मृत्यु भएको थियो । वन मन्त्रालयले साताभित्र घटनाको विस्तृत विवरण तथा कारण पहिचान गर्न माघ २५ मा छानबिन समिति बनाएको थियो ।

 छानबिन समितिका संयोजक वन मन्त्रालयका सहसचिव डा बुद्धिसागर पौडेलका अनुसार सोमबार स्थलगत अध्ययन गर्दैछौँ । शुक्रबार छानबिन समिति बनेको थियो ।

होटल व्यवसायीले पालेका हात्तीका कारण जंगली हात्ती मानव बस्तीमा बसेको गुनासो आएको उनले बताए । पौडेलले होटल तथा हात्ती व्यवसायीलाई भेट्ने जानकारी दिए।

यो समितिले चितवनमा दुई दिन रहेर घटना बारे स्थलगत अध्ययन गर्ने छ ।

सहसचिव डा पौडेलको नेतृत्वको पाँच सदस्यीय समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत पुरुषोत्तम शर्मा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सेनानी गजेन्द्र रावल, वन तथा भू–संरक्षण विभागका वन अधिकृत सवनम पाठक र चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका पशु चिकित्सक डा दिनेश शाह छन् ।