हुम्ला — हुम्लाको उत्तरी क्षेत्रस्थित यारी नाका भन्सार कार्यालय चार महिनापछि पुनः सञ्चालनमा आएको छ । अत्यधिक चिसोका कारण गत पुस १० देखि बन्द गरिएको कार्यालय आइतबारदेखि सेवा सञ्चालनमा आएको हो ।

कार्यालय प्रमुख रामराज जैसी पुनः हिल्सा पुगेपछि भन्सार सेवा सुचारु भएको हो । उनले भने, ‘तत्कालीन समयमा हिउँ जम्न थालेपछि विभागलाई जानकारी गराएर कार्यालय बन्द गरिएको थियो, अहिले पुनः सञ्चालनमा ल्याइएको छ।’

सदरमुकाम सिमकोटबाट यारी नाका पुग्न नारा लेक पार गर्नुपर्छ। हिमपातका कारण उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध हुने गर्दछ। हाल नारा लेकमा जमेको हिउँ हटाउन हिल्सा–सिमकोट सडक योजनाले काम थालेको छ, जसका कारण चाँडै यातायात सेवा पनि सञ्चालनमा आउने अपेक्षा गरिएको छ।यातायात सेवा सुचारु भएपछि ताक्लाकोटबाट सामान आयात पनि पुनः सुरु हुने अपेक्षा गरिएको छ। (स्रोतः रासस)