बैठकमा सरिता प्रसाईँ, माया राई, मञ्जु खाण, हृदयराम थानी, कान्छाराम तामाङलगायतका सांसदहरूले पार्टी नेतृत्वले आफ्ना गुनासाहरू नसुनेको, झुटा मुद्दामा परेका नेताहरूलाई कुनै संस्थागत संरक्षण नदिएको गुनासो गरे। उनीहरूमध्ये केही बैठकमै धुरुधुरु रोएका थिए।

विराटनगर– सरकारको नीति, कार्यक्रम र आगामी बजेटका प्रस्तावबारे छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार संघीय संसद् भवनस्थित ल्होत्से हलमा बसे पनि बैठकको मूल स्वर भावुकता र आक्रोशले भरिएको देखियो।

संसद् भवनभित्र छलफलका लागि भेला भएका सांसदहरूको स्वरमा सरकारमाथिको असन्तोष मात्र थिएन, आफ्नै पार्टीप्रति गुनासो र पीडाले भरिएका आवाज पनि घन्किरहेका थिए। एक जना सहभागी सांसदका अनुसार बैठक निकै तनावपूर्ण ढंगले अघि बढ्यो। केही सांसदहरू रोएका थिए, जसले समग्र बैठकलाई स्तब्ध बनाइदियो।

‘उहाँहरू रोइरहँदा केही समय बैठक नै निस्सब्द भयो। भावनाले भरिएको त्यो क्षणमा धेरै सांसदहरू बोल्नै सक्ने अवस्थामा रहेनन्,’ ती सांसदले बताए।बैठकमा बोल्ने सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति तीव्र असन्तोष प्रकट गरे।

उनीहरूले ओलीले कांग्रेसभित्रकै सांसदहरूलाई गुपचुप तरिकाले चलाउन खोजेको आरोप लगाए। साथसाथै कांग्रेस नेता कार्यकर्तामाथि राज्य संयन्त्र प्रयोग गरेर गरिएको दमनबारे पनि आक्रोश पोखियो।

सांसद शंकर भण्डारीले प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमा ‘१५ महिनापछि देउवा जीलाई कुर्सी सुम्पिन्छु’ भन्ने अभिव्यक्तिप्रति कडा आपत्ति जनाए। उनले भने, ‘कांग्रेसले कुर्सी मागेको होइन, त्यो सहमति र सम्मानको विषय हो। प्रधानमन्त्रीको यस्तो भनाइ असंवैधानिक र भ्रमपूर्ण चाल हुनसक्छ।’

बैठकमा सरिता प्रसाईँ, माया राई, मञ्जु खाण, हृदयराम थानी, कान्छाराम तामाङलगायतका सांसदहरूले पार्टी नेतृत्वले आफ्ना गुनासाहरू नसुनेको, झुटा मुद्दामा परेका नेताहरूलाई कुनै संस्थागत संरक्षण नदिएको गुनासो गरे। उनीहरूमध्ये केही बैठकमै धुरुधुरु रोएका थिए।

सांसद राजेन्द्र बजगाईँले झन् गहिरो आलोचना गर्दै भने, ‘हाम्रा शत्रुहरू बाहिर छैनन्, पार्टीभित्रै छन्। जिल्ला देखि केन्द्रसम्म आफ्नै साथीहरूले समाप्त पार्ने खेल चलिरहेको छ।’ उनले पार्टी एकतामाथि खतरा उत्पन्न भइरहेको भन्दै गम्भीर आत्मसमीक्षाको माग गरे।

उनले बुढीगण्डकी जलविद्युत् परियोजनालाई कांग्रेसले नेतृत्व गर्नुपर्ने बताए। ‘यो परियोजना मात्र होइन, राष्ट्रिय सम्भावना हो। नागरिक सहभागितामा निर्माण गरिनुपर्छ, हरेक नेपालीले शेयर पाउनुपर्छ,’ उनले जोड दिए।

यस्तै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम आगामी बजेटमा समावेश नभए कांग्रेस सांसदहरूले बजेट अस्वीकार गर्नेसम्मको चेतावनी दिए। केही सांसदहरूले त सरकार ढाल्नेसम्मका विचार बैठकमै व्यक्त गरे।

बैठकमा उठेको अर्को ठूलो कुरा थियो – कांग्रेस नेतृत्वप्रति गहिरो अविश्वास र पार्टीभित्रको असन्तोष। कतिपय सांसदहरूले स्पष्ट रूपमा पार्टी विभाजनको खतरा बढिरहेको चेतावनी पनि दिए।

#नेपाली #कांग्रेस# संसदीय# दल#को #बैठक