विराटनगर— प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको पक्षमा वकालत गर्ने कलाकारमाथि सामाजिक सञ्जालमार्फत भइरहेको आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । कोशी लगानी सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले अभिनेत्री सुरक्षा पन्तको हालैको अन्तर्वार्तालाई लिएर भएको आलोचनालाई असहिष्णुताको संकेत भन्दै निन्दा गरे।
ओलीले भने, ‘एउटा बच्चाका बारे हिरोइनलाई सोधियो। गुड लुकिङ छ, कला क्षेत्रमा राम्रो छ भनेकी के थिइन्, उनीमाथि आक्रमण भयो। यो काम गलत छ। यस्ता गलत हर्कत बन्द गरौं। यो गणतन्त्र हो। टिप्पणी गरौं, तर जे पायो त्यही नगरौं।’
प्रधानमन्त्री ओलीले हालैका घटनाक्रमलाई गणतन्त्रविरोधी तत्वहरूको अन्तिम प्रयासको रूपमा व्याख्या गरे। उनले भने, ‘विस्थापित तत्वहरूले फर्किन सकिन्छ कि भनेर अन्तिम जमर्को गर्न खोजेको अनौठो होइन। यस्ता निरर्थक प्रयास संसारभर भएका छन्, हुन्छन्। त्यस्ता प्रयासहरूको नेपालमा कुनै सम्भावना छैन। ढुक्क भए हुन्छ।’
उनले गत चैत १५ मा निस्किएको एक भुल्कोबाट राजावादीहरूको आचरण प्रस्ट देखिएको र त्यसको सम्भावना त्यसै दिन सकिएको बताए।
प्रधानमन्त्री ओलीको यो अभिव्यक्ति सामाजिक सञ्जालमा कलाकारहरू विशेष गरी सुरक्षा पन्तमाथि भएको आलोचनाप्रति आएको हो। अभिनेत्री पन्तले हालैको अन्तर्वार्तामा गणतन्त्रप्रति समर्थन जनाएकी थिइन्, जसपछि सामाजिक सञ्जालमा उनको आलोचना भएको थियो।
प्रधानमन्त्री ओलीको यो अभिव्यक्ति सामाजिक सहिष्णुता र गणतन्त्रको मूल्यको संरक्षणप्रति प्रतिबद्धता दर्शाउने संकेतको रूपमा लिइएको छ। उनले गणतन्त्रविरोधी गतिविधिहरूको सम्भावनालाई खारेज गर्दै लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्न सबैलाई आह्वान गरेका छन्।