काठमाडौँ – न त युएसएआईडी नेपालमा आज आको हो, न नेपालले नआइज भनेर गएको हो, न यो नेपालमा मात्रै थियो। जनवरी १९५१ मा नेपाल अमेरिकाबीच सहमती भएपछि १९५९ बाट यसले काम थालेको देखिन्छ।

ट्रम्पले दोस्रोपटक निर्वाचित भएपछि अमेरिकामा आफ्नो राजीतिक फाइदाका लागि बन्द गरेका हुन्। एमसीसीको नेपालमा प्रखर विरोध भएकै हो तर यो त्यस विरोधका कारण स्थगित भएको होइन भन्ने पनि सबैलाई थाहा छ। त्यसैले यसमा एक दुई व्यक्ति वा संस्थालाई मात्रै टार्गेट गरेर, प्रचार गर्नु भन्दा युएसएआईडीको नेपालमा संलग्नता, भएका लगानी, भएका बदमासी, राम्रा र नराम्रा कामको समग्रमा मूल्यांकन गरौँ ।

यसले धर्म परिवर्तनमा कति खर्च गरेछ, नेपालको शिक्षा, स्वास्थ्य र जनचेतनामा कति खर्च गरेछ भन्ने चिरफार गरौँ ।  त्यसको नाममा नराम्रो काम भएको छ भने त्यसलाई पनि खोजौँ । नेपालका नाममा आएको पैसा कति साँच्चिकै काममा प्रयोग भएछ, कति कन्सलटेन्सी र विज्ञका नाममा अमेरिकीले नै पाएछन् भन्ने पनि हेरौँ । विचौलियाले कति पाएछन् भन्ने पनि खोजौँ । यदि नेपालमा धर्म, संस्कृति र भाषा मास्नै यस्ता सहयोग र दाताहरूले काम गरेका छन् भने यिनलाई हामी आफैँ बन्द गरौँ।

नेपालका प्रमुख राजनीतिक दलहरू कांग्रेस, एमाले, माओवादी, मधेशवादी र राप्रपाले यसको सहयोग लिएका छन्। १९६२-१९७२ मा युएसएआईडीले नेपालमा ‘पञ्चायत विकास परियोजना’जस्ता कार्यक्रम चलाएको थियो, आज संघीयता सवलीकरण भनेजस्तै। त्यसैले यसले के काम गर्ने भनेर आएको थियो के गर्‍यो ? भनेर विस्तृत खोज अनुसन्धान गरेर मिडियाले आफ्ना पाठकलाई सुसूचित गराउने काम गर्नुपर्‍यो।

फेसबुक, ट्विटरमा आएका कुरालाई नै समाचार बनाएर बस्ने होइन मिडियाले। नेपालमा विदेशी सहयोग, सरकारी र गैरसरकारी तवरमा आएका अनुदानको उपादेयता र बोझ अनि विदेशी सहयोगले हामीलाई सवल बनाएको छ कि परनिर्भर भन्नेमा खुला बहस मिडियामा चलाउँ। पूर्वाग्रह र भावुकताले तथ्यलाई छोप्छ। तथ्यलाई उजागर गरेर छलफल बहस चलाउँ, यसले हामीलाई नयाँ तथ्य र प्रकाश दिनेछ।

(विचारकको फेसबुक पेजबाट)