विराटनगर— जानकी नवमीलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने मागसहित जनकपुरधाममा शनिबार दबाब र्याली निकालिएको छ। जानकी मन्दिर परिसरबाट सुरु भएको र्यालीमा साधु–सन्त, धर्मगुरु, विभिन्न धार्मिक संस्था, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय सहभागिता थियो।

सहभागीहरूले ‘जननी जानकीको अपमान किन ?’, ‘जानकी नवमीलाई राष्ट्रिय विदा घोषणा गर!’, ‘हाम्रो आस्था–हाम्रो अधिकार’, ‘जानकी जन्मभूमिलाई राष्ट्रिय गौरव बनाऊ’ भन्ने नारा लगाउँदै सरकारलाई चेतावनी दिएका थिए। उनीहरूले वैशाख २३ मा पर्ने जानकी नवमीका अवसरमा राष्ट्रिय विदा घोषणा गर्न माग गरे।

जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले र्यालीको नेतृत्व गर्दै संघीय सरकारको उदासीनताप्रति आक्रोश व्यक्त गरे। ‘जानकीको जन्मोत्सव हाम्रो धार्मिक, सांस्कृतिक र ऐतिहासिक अस्तित्वसँग प्रत्यक्ष जोडिएको पर्व हो, उनले भने, ‘बुद्ध जयन्तीमा विदा हुन्छ, तर जानकी नवमीमा किन हुँदैन? यो धार्मिक भेदभाव हो, आस्थाको अपमान हो।’

महन्थ दासले जानकी नवमीको महत्व मिथिला वा तराईमा मात्र सीमित नरही भारत–नेपालको साझा सांस्कृतिक परम्परासँग समेत जोडिएको उल्लेख गरे।

यसअघि वैशाख ७ मा साधु–सन्तहरूको टोलीले जिल्ला प्रशासन कार्यालय, धनुषामार्फत प्रधानमन्त्रीलाई सम्बोधित ज्ञापनपत्र बुझाएको थियो। उक्त ज्ञापनपत्रमा जानकी नवमीमा प्रत्येक वर्ष राष्ट्रिय विदा दिनुपर्ने र जनकपुरलाई राष्ट्रिय गौरवको सूचीमा राख्नुपर्ने माग गरिएको थियो। तर अहिलेसम्म सरकारबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।