विराटनगर– ब्राजिलको रियो दि जेनेरियोस्थित कोपाकाबाना समुद्रकिनारमा अमेरिकी पप गायिका लेडी गागाको निशुल्क कन्सर्टमा २० लाखभन्दा बढी मानिस सहभागी भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार यो उनको अहिलेसम्मकै सबैभन्दा ठूलो कन्सर्ट हो।
उक्त कार्यक्रम रियो महानगरपालिकाले आयोजना गरेको हो, जसको उद्देश्य सहरको अर्थतन्त्रलाई पुनर्जीवित गर्नु थियो। अनुमानअनुसार यस कन्सर्टले स्थानीय अर्थतन्त्रमा करिब १० करोड अमेरिकी डलर (झन्डै १३ अर्ब नेपाली रुपैयाँ) बराबरको योगदान पुर्याउनेछ।
शनिबार सम्पन्न कन्सर्ट गागाको आठौँ एल्बम मयहेमको प्रचार अभियानअन्तर्गत आयोजना गरिएको हो। एल्बममा अब्राकाडाब्रा र डाइ विथ ए स्माइल जस्ता गीत समावेश छन्। गागाले यसअघि सन् २०१२ मा ब्राजिलमा प्रस्तुति दिएकी थिइन्।
गागाका समर्पित प्रशंसकहरू — जसलाई ‘लिटिल मनस्टर्स’ भनिन्छ — बिहानैदेखि लाइनमा बसेर समुद्रकिनारमा प्रवेशका लागि प्रतीक्षा गरेका थिए। कार्यक्रमस्थलमा कडा सुरक्षा व्यवस्था मिलाइएको थियो। पाँच हजार सुरक्षाकर्मी तैनाथ गरिएको थियो भने सहभागीहरूले मेटल डिटेक्टरमार्फत प्रवेश गरेका थिए। ड्रोन र अनुहार पहिचान प्रणालीसमेत प्रयोग गरिएको थियो।
लेडी गागा यसरी रियोमा निशुल्क कन्सर्ट दिने पहिलो कलाकार भने होइनन्। सन् २०२४ को मे महिनामा गायिका म्याडोनाले पनि यस्तै निशुल्क कन्सर्ट दिएकी थिइन्, जसको खर्च पनि सहरले नै व्यहोरेको थियो।
‘तपाईंहरूले मलाई कुर्नुभयो, १० वर्षभन्दा बढी प्रतिक्षा गर्नुभयो,’ गागाले दर्शकहरूलाई सम्बोधन गर्दै भनिन्। उनले ब्राजिलको झण्डा फर्फराउँदै थपिन्, ‘ब्राजिल, म तयार छु। म सम्पूर्ण आत्मा र ऊर्जा दिनेछु।’
कन्सर्टका केही भागमा उनले ब्राजिलको राष्ट्रिय फुटबल टोलीबाट प्रेरित पोशाकहरूमा प्रस्तुति दिएकी थिइन्। एलेजान्द्रो, पोकिर फेस र अब्राकाडाब्रा जस्ता गीतहरूमा हजारौँ दर्शकहरू गागासँगै गाइरहेका थिए। समुद्रकिनारभरि इन्द्रेणी रंगका पंखा फर्फराइएका थिए र विशाल पर्दामा कार्यक्रम प्रत्यक्ष प्रशारण गरिएको थियो।
ब्राजिलभरिबाट दर्शकहरू कार्यक्रम हेर्न आएका थिए । २८ वर्षीय लुआन मेसियासले भने, ‘म साओ पाउलो राज्यको इतानहेमबाट रातभर बसमा यात्रा गरेर आएको हुँ। गागाको हेर्न लायको कन्सर्टका लागि हो।’
२२ वर्षीया एलिशा डुआर्टेले एएफपीलाई भनिन्, ‘म बिहान ७ बजेर ४० मिनेटमा लाइनमा बसेकी थिएँ। लेडी गागाका लागि त जति भिड भए पनि सहिन्छ।’ एक जना प्रशंसक पाउलो ओलिभेराले भने, ‘गागाले हामीलाई आफूजस्तो हुन प्रेरणा दिन्छिन्। उनी भन्छिन् कि फरक हुनु राम्रो कुरा हो। त्यसैले हामी उनलाई माया गर्छौं।’
प्रवेश गर्दै गर्दा लई बोर्जेसले रायटर्सलाई भनिन्, ‘यो कन्सर्ट अविस्मरणीय हुनेछ। म त धेरै रोला जस्तो लागेको छ।’ कार्यक्रमको अन्त्यमा गागाले भनिन्, ‘हामी मनस्टर हौं, र मनस्टर कहिल्यै मर्दैनन्।’ त्यसपछि उनले आफ्नो सबैभन्दा चर्चित गीत ब्याड रोमेन्स प्रस्तुत गर्दै कन्सर्टको समापन गरिन्।