काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न योग्य नरहेको बताएका छन् । ललितपुरमा आयोजित एक प्रशिक्षण कार्यक्रममा बोल्दै देउवाले शाहको स्वभाव र प्रवृत्ति संवैधानिक राजतन्त्रका लागि उपयुक्त नहुने दाबी गरे।
नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित सो कार्यक्रममा सभापति देउवाले पूर्वराजा शाहको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै भने, 'एउटा कुरा स्पष्ट छ— यी संवैधानिक राजा बन्न लायकका मान्छे होइनन् । उनको न स्वभाव, न प्रवृत्ति, न त सोच नै संवैधानिक राजतन्त्र अनुरूप छ।”
पूर्वराजा शाहलाई साथ दिइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अन्ततः आफ्नो निर्णयमा पछुताउनुपर्ने देउवाको दाबी छ। उनले भने, 'राप्रपाले ज्ञानेन्द्र शाहलाई बोकेर हिँडेको छ, तर यसले उनलाई मात्रै होइन, स्वयं राप्रपालाई पनि दुःख दिन्छ। अन्ततः उनीहरू पछुताउनेछन्।'
उनले पूर्वराजालाई राजनीतिक दल खोलेर प्रत्यक्ष राजनीतिमा आउन सुझाव दिए। 'राजनीति नै गर्नुछ भने पार्टी खोलेर गरे भइहाल्यो। तर त्यो पार्टीमा लाग्नेहरूले पनि अन्ततः धेरै दुःख पाउनेछन्,; देउवाले थपे ।
स्मरण रहोस्, २०६२/६३ को जनआन्दोलनपछि राजतन्त्र समाप्त भई नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषित भइसकेको छ । यद्यपि राप्रपाले समय-समयमा संवैधानिक राजतन्त्र पुनःस्थापनाको पक्षमा आवाज उठाउँदै आएको छ।