विराटनगर – भारतको उडिसा राज्यस्थित किट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको निधनको विषयमा राष्ट्रिय सभामा सांसदहरूले गम्भीर चिन्ता व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन्। यसअघि पनि सोही कलेजमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको स्मरण गराउँदै सांसदहरूले किटमा यस्ता घटना दोहोरिनु गम्भीर विषय भएको भन्दै तत्काल छानबिन समितिको गठन र आवश्यक कूटनीतिक पहलको आग्रह गरेका हुन्।
सांसद कृष्णबहादुर रोकायाले मृतक प्रिशा साहप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारको ध्यान कुटनीतिक पहलमार्फत दोषी पत्ता लगाएर कारबाही गर्नतर्फ केन्द्रित गराउन माग गरे। उनले भने, ‘भावी दिनमा यस्ता घटना नदोहोरियोस् भन्न हामीले ठोस कदम चाल्नुपर्छ।’
सांसद गंगाकुमारी बेल्बासेले स्थानीय विद्यार्थीहरू र बाहिरबाट गएका विद्यार्थीबीच प्रतिस्पर्धात्मक तनाव रहने र त्यही कारण यस्ता घटनाहरू घट्ने सम्भावना औँल्याइन्। उनले निष्पक्ष छानबिन बिना यस्ता घटनालाई प्रेम वा आत्महत्याको सामान्य धारणा दिइनु नहुने बताइन्।
सांसद सुमित्रा बीसीले उज्ज्वल भविष्यको सपना बोकेर भारत गएका विद्यार्थीहरूको अकाल मृत्यु अत्यन्त दुःखद भएको भन्दै सरकारलाई सचेत र जिम्मेवार हुन आग्रह गरिन्। सांसद मदनकुमारी साहले भनिन्, ‘तीन महिनाको अन्तरालमा सोही कलेजको सोही तलामा दुई नेपाली विद्यार्थी मृत भेटिनु सामान्य घटना होइन। अब पनि हामी मौन बस्ने हो?’
सांसद तुलप्रसाद विश्वकर्माले किट कलेजमा नेपाली विद्यार्थीहरूमाथि दोहोरिंदो दमन भइरहेको भन्दै उक्त कलेजलाई अब एनओसी नदिइनुपर्ने सुझाव दिए। उनले भने, ‘दुव्र्यवहार भइरहेको स्थानमा हामी किन विद्यार्थी पठाउने?’
यस्तै सांसद शेखरकुमार सिंहले भने, ‘विदेशमा छोराछोरीलाई उज्यालो भविष्यका लागि पठाएका अभिभावकहरूले यस्तो समाचार सुन्दा के महसुस गर्छन्? यस्तो दुःखद अवस्थालाई गम्भीर रूपमा लिनु आवश्यक छ।’