काठमाडौँ — हाल देशमा पश्चिमी वायु, स्थानीय वायु, र बङ्गालको खाडी तथा अरब सागरबाट आएका जलवाष्पयुक्त हावाको संयुक्त प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकीका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने अनुमान गरिएको छ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।मौसमको यस अवस्थाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।