रुकुम पश्चिम — ‘कुकुर्नी’ भन्ने नामले जीवनभर झेलेको अपहेलनाबाट मुक्तिका लागि सानीभेरी गाउँपालिका–३ की एक महिलाले लिइरहेकी कानुनी पहिचान अब परिवर्तन भएको छ। अब उनी कमला बिटालुको नाममा चिनिनेछिन्।
रुकुम पश्चिमको प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालयले पुरानो अपमानजनक नाम ‘कुकुर्नी कामी’ हटाएर नयाँ नाम ‘कमला बिटालु’ कायम गर्दै नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिएको हो। नाम परिवर्तनको निवेदन आएपछि कार्यालयले सम्बन्धित प्रक्रिया पूरा गरेर नयाँ प्रमाणपत्र प्रदान गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार ती महिलाले ‘कुकुर्नी’ नामकै कारण आफू सधैँ हिनताबोधमा परेको र सामाजिक रूपमा अपहेलित महसुस गर्नुपरेको भन्दै नयाँ नाम राख्न अनुमति मागेकी थिइन्। ‘उनको माग मानवीय दृष्टिकोणले एकदमै उचित थियो,’ रेग्मीले भने, ‘त्यसैले कानुनी प्रक्रिया पुर्याएर नाम सच्याइएको हो।’
देशमा अझै पनि जात, थर वा परम्परागत नामका आधारमा अपहेलनाको सिकार बन्ने धेरै मानिसहरू छन्। यस्तो अवस्थामा एउटा महिलाले आफ्नो पुरानो पहिचानलाई अस्वीकार गर्दै आत्मसम्मानका साथ नयाँ परिचय रोज्नु, समाजको सचेत रूपान्तरणतर्फको संकेत पनि हो।
कमलाको निर्णयले केवल उनको नाम होइन, एक प्रकारको सामाजिक व्याख्या पनि बदलिएको छ—जहाँ पहिचान अब गरिमा र आत्मसम्मानको आधारमा बनाइन्छ, न कि परम्परागत अपमानजनक शब्दहरूबाट।