काठमाडौँ — औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले यस वर्ष ६ सय ६१ जना उद्यमीलाई स्टार्टअप कर्जाका लागि सिफारिस गरेको छ। आइतबार सूचना जारी गर्दै प्रतिष्ठानले तीन प्रतिशत ब्याजदरमा कर्जा दिन योग्य ठहरिएका उद्यमीको नाम सार्वजनिक गरेको हो।

चालु आर्थिक वर्षको बजेटमा सरकारले स्टार्टअप कर्जाका लागि १ अर्ब रुपैयाँ विनियोजन गरेको थियो। सोही बजेटअनुसार सिफारिसमा परेका उद्यमीहरूले न्यूनतम ५ लाखदेखि अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा पाउनेछन्।

सिफारिसमा परेका उद्यमीले सूचना जारी भएको मितिबाट ४५ दिनभित्र तोकिएको बैंकको शाखा कार्यालयमा सम्पर्क गर्नु पर्नेछ। समयमै सम्पर्क नगरेमा परियोजना प्रस्तावसहित सिफारिस रकम स्वतः रद्द हुने प्रतिष्ठानले जनाएको छ। कुन बैंकको कुन शाखामा जानुपर्ने भन्ने सूचना प्रतिष्ठानले बिहीबारसम्म सार्वजनिक गर्ने बताइएको छ।

यसबाहेक अन्य कुनै सहुलियत कर्जा लिइसकेका उद्यमीको हकमा पहिलेको कर्जा पूरै भुक्तान भइसकेको हुनुपर्नेछ।कर्जा लिन जानु अघि उद्यमीहरूले निम्न कागजातहरू अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ :

व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र

प्यान वा भ्याट दर्ताको सक्कल

नागरिकताको सक्कल

आर्थिक वर्ष २०८०/८१ को कर चुक्ता प्रमाणपत्र

अधिकृत व्यक्तिको पासपोर्ट साइज फोटो

व्यवसायको छाप

परियोजना लिज वा भाडामा सञ्चालनमा रहेको भए सम्झौतापत्र

व्यवसायको प्रकृति अनुसार आवश्यक अनुमति पत्रहरू

सरकारले युवा उद्यमशीलता प्रवद्र्धन गर्न ल्याएको स्टार्टअप कर्जा कार्यक्रम अन्तर्गत यस वर्ष उल्लेखनीय संख्यामा उद्यमी लाभान्वित हुने अपेक्षा गरिएको छ।