विराटनगर– प्रतिसिलिण्डर ढुवानी कमिसन १२ रुपैयाँ बढाउने लगायत सरकार र ग्यास उद्योगीबीच ५ बुँदे सहमति भएको छ । सहमतिमा ग्यास उद्योग संघको विरोधका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिने र सबै ग्यास उद्योगीहरूले एलपी ग्यासको आपूर्ति सहज बनाउने उल्लेख छ ।

उद्योगीहरुले माघ २४ मा विभिन्न मागसहित १९ बुँदे ज्ञापनपत्र मन्त्रालयमा बुझाएको थियो । ग्यासको बजार मूल्य भने यथावत रहने छ । ग्यासको मूल्य अहिले प्रतिसिलिन्डर १ हजार ९ सय १० रुपैयाँ छ । 
पाँच बुँदे सहमतिमा ग्यास उद्योगहरूको वाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको खर्चमा प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसाले वृद्धि गरेको विषयमा नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीहरूलाई जानकारी गराइएको भनिएको छ ।