विराटनगर– मोरङको सुन्दरहरैंचा नगरपालिका–१ स्थित हरैंचा बजारमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीयले प्रदर्शन गर्दै विराटनगर–विराटचोक सडक अवरुद्ध गरेका छन् । घटनापछि क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकलमा सवार सुनसरीको दुहबी नगरपालिका–९ निवासी ४० वर्षीय महमद हासिम मियाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

प्रहरीले टिपर चालक पवन योन्जनलाई नियन्त्रणमा लिएको छ । टिपर कान्छाराम कन्स्ट्रक्सनको स्वामित्वमा रहेको र हाल विराटनगरका होनहार कांग्रेसी नेता एवं सक्रिय समाजसेवी अभिषेक गिरीले भाडामा लिएर निर्माण सामग्री ढुवानीका लागि प्रयोग गर्दै आएको खुलेको छ ।

शुक्रबार बिहान एघारे बजे तिर ना १ क ६२७० नम्बरको गिट्टी लोड गरिएको टिपरले मियाँको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । दुवै सवारी विराटचोकबाट विराटनगरतर्फ गइरहेका थिए ।

दुर्घटनापछि आक्रोशित स्थानीयले टिपर रोकेर विरोध प्रदर्शन गर्दै शव उठाउन दिएक छैनन् । उनीहरूले लाठी, भाला बोकेर सडकमा नारा जुलुस गर्दै टिपरमा आगजनीको प्रयास समेत गरेका छन् । प्रहरीले टिपरलाई सुरक्षा दिँदै घटनास्थलमै राखेको छ ।

सुरक्षा संवेदनशीलता बढेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको ठूलो टोली परिचालन गरिएको छ । ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गरी सवारीसाधन ‘डाइभर्ट’ गरिरहेको जनाएको छ ।

प्रदर्शनकारीले टिपरको तीव्र गति र लापरवाहीलाई दुर्घटनाको कारण बताउँदै दोषी चालकलाई कारबाही गर्न, मृतक परिवारलाई उचित क्षतिपूर्ति दिन र हरैंचा क्षेत्रमा टिपर सञ्चालनमा रोक लगाउन माग राखेका छन् । डीएसपी जोशीका अनुसार स्थिति नियन्त्रणका लागि डीएसपी मदन केसीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

टोलीले भीडलाई शान्त पार्न संवाद गरिरहेको भए पनि प्रदर्शन थप आक्रोशित बन्दै गएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गिट्टी बोकेको तीव्र गतिमा रहेको टिपरले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ ।