विराटनगर– कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङ्ले कोशी प्रदेश सरकार एकलौटी रुपमा सञ्चालन भएको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा कांग्रेस–एमालेको गठबन्धन सरकारप्रति आक्रोश पोखेका हुन् । 

उनले लेखेका छन्, ‘कोशी प्रदेश सरकारको एकलौटी रबैयाप्रति घोर विमति छ । यस्तो सरकारमा रहनु भन्दा प्रतिपक्षी हुनुमा गर्व गर्छु ।’ एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा कांग्रेसबाट भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सहभागी भएको छ । कांग्रेसले भौतिक पूर्वाधार विकास, पर्यटन, वन तथा वातावरण र स्वास्थ्य मन्त्रालय पाएको हो । जसमा भौतिक पूर्वाधार र स्वास्थ्यमन्त्रीमा भुपेन्द्र राई र पर्यटन, वन तथा वातावरणमन्त्रीमा सदानन्द मण्डल रहेका छन् । 

मुख्यमन्त्री कार्कीले एकलौटी ढंगले सरकार चलाएको उनको भनाइ छ । कांग्रेस र एमालेको संयुक्त सरकार भए पनि एमालेका मुख्यमन्त्री कार्कीले कांग्रेसलाई वेवास्ता गर्दै सरकार सञ्चालन गरेको भन्दै प्रमुख सचेतक तामाङ्ले विमति जनाएका हुन् ।