विराटनगर– उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित सिवाई–बेल्हा गाउँको बीचबाट बग्ने त्रियुगा नदीमा आएको बाढीले जन्ती पु¥याएर फर्किरहेको यात्रुवाहक बस बगाएको छ।सोमबार राति सिवाईबाट सप्तरीमा जन्ती पु¥याएर बेल्टार फर्किने क्रममा को १ ख ४७५३ नम्बरको ‘बराहक्षेत्र’ नामक बस त्रियुगा नदीमा आएको बाढीमा फसेर बगेको इलाका प्रहरी कार्यालयले जनाएको छ।

बस राति करिब ११ बजे त्रियुगा नदी पार गर्न खोज्दा बाढीको बीचमा फसेर बगेको हो। प्रहरीका अनुसार बसमा चालक र सहचालक मात्रै सवार थिए । उनीहरू सकुशल छन्। बस न्यू प्रतिसारा यातायात सेवा अन्तर्गत धरान–बेल्टार रुटमा सञ्चालन हुँदै आएको छ

उद्घाटन नहुँदै भत्किएको पुल, बर्सेनि जोखिम मोल्दै नदी तर्न बाध्य स्थानीय

सिवाई–बेल्हा जोड्ने त्रियुगा नदीमाथिको पक्की पुल वर्षौंदेखि निर्माणाधीन रहँदा स्थानीय बासिन्दा प्रत्येक वर्ष बर्खायाममा ज्यान जोखिममा राखेर नदी पार गर्न बाध्य छन्। अझ विडम्बना त के भने पुल निर्माण सम्पन्न भएर उद्घाटन हुन नपाउँदै भत्किएको हो।

शिलान्यास भएको १२ वर्षपछि निर्माण सुरु गरिएको उक्त पुल २०७८ मा सकिने तयारी थियो। तर बाढीले दुईवटा पिलर भासिएर तीन वटा स्पान क्षति भएपछि पुल काम नलाग्ने भएको हो । २५ मिटरका १२ स्पान रहेको पुलमध्ये दुई स्पान र एक पिलर धसिएका छन्। कुल ३०७ मिटर लम्बाइ र ५ मिटर चौडाइको सो पुल महालक्ष्मी–लोकप्रिय जेभी कन्स्ट्रक्सन, कलंकी काठमाडौँले निर्माण गरेको थियो। डिजाइन तथा माटो परीक्षण स्वाइल कन्सल्टेन्सी, बालाजुले गरेको हो।

चौदण्डीगढी–५ का वडाध्यक्ष तुलसीराम ढकाल भन्छन्, ‘पटक–पटक संघीय सरकार, भौतिक पूर्वाधार मन्त्रालय र प्रधानमन्त्रीसमक्ष पुल निर्माणको आग्रह गर्यौं, तर अहिलेसम्म सुनुवाइ भएको छैन।’पुल निर्माण नहुँदा चौदण्डीगढी–५, ९ र १० वडाका करिब २० हजार बासिन्दा नगरको केन्द्रसँग जोडिन नसक्ने अवस्थाले सामाजिक र आर्थिक गतिविधिमा समेत असर पारेको छ।