काठमाडौँ — धितोपत्र बोर्डबाट प्राथमिक सेयर (आईपीओ) निष्कासनको स्वीकृति दिलाउने भन्दै अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नाममा एजेन्टहरूले जलविद्युत् प्रवर्द्धकहरूसँग कमिसन मागेको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बोर्डको कार्यालयमा छापा मारेको छ। आयोगको टोलीले बोर्डको कार्यालय पुगेर छानबिन गर्दै हाल विचाराधीन ८९ कम्पनीका सबै आईपीओ प्रस्तावसम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको छ।
स्रोतका अनुसार उजुरीकर्ताहरूले ‘बोर्डमा रहेकाहरुले आईपीओ चाँडै स्वीकृत गरिदिन्छौं, नत्र ढिलो गर्दा ब्याज थपिन्छ’ भन्दै फोन, इमेल, एसएमएस र प्रत्यक्ष भेटमार्फत ५ प्रतिशतसम्म कमिसन मागिएको गुनासो गरेका थिए। उजुरीको गम्भीरताका आधारमा छापा मारिएको अख्तियार स्रोतले जनाएको छ।
बुधबारको प्रतिनिधिसभा बैठकमा समेत धितोपत्र बोर्डका पदाधिकारीहरूमाथि आइपिओ स्वीकृतिको नाममा कमिसन माग्ने गरेको विषय उठाइएको थियो। सांसदहरूले तत्काल छानबिनको माग गरेका थिए।
बोर्डका अध्यक्ष श्रेष्ठको नियुक्ति सुरुदेखि नै विवादास्पद रहँदै आएको छ। उनी कुनै व्यापारिक घरानाको स्वार्थमा पदस्थापन गरिएको आरोप पहिले देखिनै उठ्दै आएको थियो।