विराटनगर — इन्टरपोल रेड नोटिसमा सूचीकृत जबरजस्ती करणी (वैवाहिक करणी) मुद्दाका फरार अभियुक्त समसुदिन अंसारीलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ। पर्साको वीरगञ्ज महानगरपालिका–३१ बेलवाप्रसौनी स्थायी ठेगाना भएका अंसारीलाई इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) दोहा, कतारको समन्वयमा पक्राउ गरिएको हो।
नेपाल प्रहरीको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२५ अप्रिल १ मा अंसारीविरुद्ध रेड नोटिस जारी गरेको थियो। उनीलाई बिहीबार नेपाल ल्याइ सम्बन्धित मुद्दामा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।
इन्टरपोल रेड नोटिस कुनै अन्तर्राष्ट्रिय पक्राउ आदेश नभए पनि सदस्य राष्ट्रहरूलाई फरार अभियुक्तको पहिचान र अस्थायी गिरफ्तारीका लागि सूचना प्रदान गर्ने संयन्त्र हो। यसले सदस्य राष्ट्रहरूबीच आपराधिक मुद्दामा सहयोग पु¥याउने उद्देश्य राख्छ। रेड नोटिस जारी भएपछि, सम्बन्धित देशले आफ्ना कानुनी प्रावधानअनुसार अभियुक्तलाई पक्राउ गर्न सक्नेछ।
नेपाल प्रहरीले इन्टरपोल रेड नोटिसमार्फत अन्तर्राष्ट्रिय स्तरमा फरार अभियुक्तहरूको खोजी र पक्राउमा उल्लेखनीय सफलता हासिल गरेको छ। गत १० वर्षमा इन्टरपोलको सहयोगमा ६६ जना फरार अभियुक्तहरूलाई नेपाल फर्काइएको छ। यसमा सबैभन्दा बढी २५ जना संयुक्त अरब इमिरेट्स (यूएई) बाट, १० जना कतारबाट, ५ जना कुवेतबाट र ३ जना साउदी अरेबिया तथा मलेसियाबाट फर्काइएका छन् ।
समसुदिन अंसारीको पक्राउ र नेपाल प्रत्यर्पणले अन्तर्राष्ट्रिय अपराध नियन्त्रणमा इन्टरपोल रेड नोटिसको प्रभावकारिता देखाएको छ। यसले अन्तर्राष्ट्रिय अपराध नियन्त्रणमा नेपाल प्रहरीको सक्रियता र प्रतिबद्धता पनि प्रस्ट पार्दछ।